मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माईतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् ।

mater-baje-1

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० बैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टीहरु मिलेर मिटरब्याज विरुद्धको कानून पारित हुन नदिएको आरोप लगाएकि छिन् । उनले संसदबाट मिटरब्याज बिरुद्धको कानून पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएकि छिन् । पीडित साहले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताइन् । उनले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानून पास हुन नदिएको आरोप लगाइन् । पीडितहरुले सरकारले दिएको ललिपपले मान्ने अवस्था नरहेको समेत बताएका छन् ।