सोमबार र मंगलबारको भारी वर्षाका कारण दक्षिणपश्चिम चीनको चोङकिङको वान्झाउ जिल्लामा बाढीले १५ जनाको मृत्यु भएको छ । ४ जना अझै वेपत्ता रहेको स्थानीय सरकारी अधिकारीहरुले जनाएको चाइना डेलीले जनाएको छ । बाढीले सबैभन्दा बढी प्रभावित वान्झाउ जिल्लाको आपतकालिन व्यवस्थापन ब्यूरोले बुधबार विहानसम्मको वर्षाले जिल्लाका वुकियाओ,चाङलिङ र बैयाङलगायत ३६ सहर, गाउँ र सडकलाई प्रभावित बनाएको छ । बाढीले ३७ हजार २२६ नागरिक प्रभावित भएको र तीमध्ये ११ हजार ५ सय ७८ जनालाई स्थानान्तरण गरिएको चाइना डेलीले उल्लेख गरेको छ । बाढीले १९४९ दशमलव ९६ हेक्टर जमिनको बाली क्षति गरेको छ । ५० घर भत्किएका छन् भने ११२ घरमा क्षति पुगेको बताइएको छ । बाढीले यो क्षेत्रमा २ सय २८ मिलियन युआन बराबरको प्रत्यक्ष आर्थिक नोक्सानी भएको बताइएको छ । चोङकिङ जलविज्ञान अनुगमन केन्द्का अनुसार सोमबार र मंगलबार सहरका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो ।