प्रदेश संरचना खारेजको एजेण्डा बोकेको तर प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेश नेतृत्वका लागि तयार भएको बताएको छ । 

कोशी प्रदेशमा सत्ता समीकरणको अंकगणितले मध्यावधि चुनाव हुने देखिएपछि राप्रपाले मध्यावधि रोक्न आफ्नै नेतृत्वमा प्रदेश सरकार हुनुपर्ने माग अघि सारेको हो ।  

प्रदेशमा राजनीतिक स्थिरताका लागि राप्रपालाई सरकारको नेतृत्व दिएर मुख्यमन्त्री दिनुपर्ने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताएका छन् । कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गर्ने र मुख्यमन्त्री बन्ने हठ त्याग्नु पर्ने उनले सर्त अघि सारेका छन् । 

‘मध्यावधि निर्वाचनमा नजाने हो भने कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री बन्ने हठ त्याग्नु पर्छ,’ नेता सिटौलाले भने, ‘कांग्रेस र माओवादीले अहम् छाडेर प्रदेशमा राजनीतिक स्थिरताका लागि संवाद गरी मिलेर जानुपर्छ ।’ 

उनले गठबन्धन दलसँग सरकार गठनका लागि आवश्यक प्रदेश सांसदको समर्थनसमेत नरहेको बताए । माओवादीले सभामुखलाई सरकार बनाउने र ढाल्ने खेलमा संसदीय अभ्यासविपरीत प्रयोग गर्न नहुने भन्दै नेता सिटौलाले मध्यावधिको विकल्प नरहेकाले कांग्रेस र माओवादीले सरकारको नेतृत्व गर्ने हठ त्याग्नुपर्ने बताएका हुन् ।

यद्यपि प्रदेश समीकरणका बारे कसरी जाने भन्ने विषयमा केन्द्रले टुंगो लगाउने बताउँदै आएको छ । ‘आजदेखि छलफल र संवाद सुरु हुन्छ । पार्टी अध्यक्षसँग सम्पर्कमै छु, अध्यक्षजीले केही भन्नु भएको छैन । माथि वार्ताबाट केही तय भयो भने मलाई जानकारी आउँछ ।’ नेता सिटौलाले भने ।  

गठबन्धन दलका प्रदेश सांसदले व्यक्तिगत रुपमा सरकार गठनको विषयमा आग्रह गरे पनि औपचारिक रूपमा कतैबाट कुरा नआएको नेता सिटौलाले बताए ।

‘सुरुमा वार्ता हुन्छ, कोसँग कसरी कुरा अघि बढ्छ, आजदेखि मात्र खेल सुरु भएको  छ, केही न केही निकास निस्केला, पार्टीहरु सबै सुझबुझ राख्ने नै छन्,’ नेता सिटौलाले भने, ‘परिस्थितिले मुख्यमन्त्री सम्हाल्ने अवस्था आए हामी सम्हाल्ने छौं । अपोजिसनमा बस्नुपर्यो भने पनि हामी बस्छौं । अब मध्यावधि नै फेस गर्नुपर्छ भने पनि गरौंला हामी मेन्टल्ली सबै किसिमले प्रिपियर्ड छौं ।’