धरानमा तरकारी पसले देखिने विकास भगतको काठमाडौँमा देखिएको गतिविधि लागुऔषधको ग्याङस्टार भन्दा कम नभएकोले प्रहरीले उनलाई पक्राउ गर्न घुडामुनी गोली हान्नु परेको बताएको छ ।


भगत तरकारी व्यापारको निहुँमा नेपाल भारत सीमानाका जोगबनीबाट लागूऔषध ओसारपसार गर्ने गिरोह सञ्चालन गर्दै आएका व्यक्ति भएको प्रहरीले जनकारी दिएको हो । प्रहरीका अनुसार भगत धरानमा लागूऔषध डिलरका रूपमा व्ल्याकलिस्टेड हुन ।


काठमाडौँमा आइतबार लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारी भगत लाई पक्रन गोली चलाएको हो । टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने गिरोहको पिछा गरिरहेको थियो ।


सोही क्रममा भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौँ जान हवाई टिकट काटेको सूचना प्रहरीले पायो । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल बाट गौशाला जाने बाटोतिरको एक होटेलमा प्रवेश गरे ।


उनले त्यहाँ कसैलाई सामान दिन लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग घम्साघम्सी भयो । विकासले प्रहरीकै हतियार खोसेर प्रतिकार गर्न खोजे र प्रहरीलाई नै जोखिम हुने स्थिति सृजना भएपछि उनको घुँडामुनि गोली प्रहार गरीएको हो ।


भगतको साथबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ भने उनीको साथमा हतियार पनि हुने गरेको एसएसपी थपलियाले जानकारी दिए ।


पछिल्लो समय प्रहरीले धरानको विभिन्न स्थानबाट तीन थान पेस्तोल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लागूऔषध कारोबारमा संलग्न व्यक्तिले अवैध हातहतियार ओसार पसार समेत गराउने प्रहरीको आशङ्का सही साबित भएको छ ।


डिलरको रूपमा धरानमा लागूऔषध कारोबार गरेको खुलेको भए पनि भगत विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा अहिलेसम्म कुनै मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।