प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातका भैँसी उपहार दिने भएपछि मुर्रा भैँसीबारे चासाे र चर्चा बढेकाे छ । 

नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैँसी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएकाे हाे । 

मुर्रा भैँसीका खास विशेषता के हुन् ?

मुर्रा भैँसी घरपालुवा भैँसीको एक विशेष नस्ल हो जुन प्रायः दूध उत्पादनको लागि पालिन्छ । यो भारतकाे पञ्जावकाे एक जात हो जुन अहिले भारतकै विभिन्न राज्य र अन्य देशमा पनि पालिने गरिएकाे छ ।

भारतकाे हरियाणामा त मुर्रा भैँसीलाई ब्ल्याक गोल्ड अर्थात् कालाे सुन पनि भनिन्छ । यो दूधमा बोसो उत्पादनको लागि उत्कृष्ट नस्ल हो । यसको दूधमा ७ प्रतिशत फ्याट पाइन्छ ।याे भैँसीले हरेक दिन पाँच किलो ओटमिल र दुई किलो कपासको तेल खान्छ । याे भैँसीलाई दुहुन धेरै बल लगाउनुपर्छ । बाक्लाे दूध हुने भएकाेले दुहुनका लागि धेरै बल चाहिन्छ । 

हाल भारतमै मुर्रा जातकाे एउटा भैँसीलाई ९० हजारदेखि डेढ लाख भारु पर्छ । मुर्रा भैँसी सबैभन्दा उत्पादनशील भैँसी नस्ल हो । 

मुर्रा भैँसीले अन्य जातका भैँसीको भन्दा दोब्बर दैनिक १५ देखि ३० लिटरसम्म दूध सजिलै दिने बताइन्छ । याे जातकाे भैँसीका लागि विशेष आहारा चाहिन्छ । दूध बढाउन भैँसीकाे आहारामा पनि अति ख्याल गर्नुपर्छ ।