धरान । वडावासीलाई सहज रुपमा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट  सेवा प्रदान गर्दै आएको धरान उपमहानगरपालिका वडा नम्बर ८ले विशेषज्ञ चिकित्सक सहितको स्वास्थय शिविर आयोजना गरेको छ । वडामा रहेका विपन्न ,गरिव , दलित ,अल्पसंख्यक लगायतलाई लक्षित गरी वडा कार्यालयले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा विराट नर्सिङहोमको प्राविधिक सहयोग रहेको थियो । सो नर्सिङहोमबाट आएका विशेषज्ञ चिकित्सकहरुले शिविरमा स्वास्थ्य परिक्षणका लागि आएकाहरुको  मुटु, उच्च रक्तचाप, मधुमेहका समस्या भएकाहरुको चेकजाँच गरेका थिए  । धरानको वडा नम्बर  ८ जनसंख्या र भौगोलिक हिसाबले ठूलो वडा भएको र त्यसमा पनि विपन्न परिवारको संख्या ठूलो रहेको छ । त्यसैलाई मध्यनजर गर्दै विपन्न परिवारहरुका वडावासीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन आयोजना गरिएको  धरान वडा नम्बर ८ की वडासदस्य सावित्री परियारले सप्तकोशी अनलाइनलाइ जानकारी दिइन । वडाले वडावासीहरुलाई आधारभुत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सम्वन्धी विभिन्न सेवाहरु प्रदान गर्दै आएको वडाध्यक्ष धनवहादुर राईले वताए । वडाध्यक्ष राईले देशका कतिपय ठाउँमा पुनः कोरोना संक्रमित फेला पर्न थालेको तर्फ मध्यनजर गर्दै कोरोना संक्रमण न्यूनिकरणका लागि पूर्व तयारी समेत थालिएको जानकारी दिए ।  

वडाले सञ्चालन गरेका स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गर्न आएका सर्वसाधारणहरु आफनै ठाउँमा सहज रुपमा विशेषज्ञ सेवा लिन पाएकोमा खुशी लागेको वताउछन । सेवाग्राहीहरुले वडाले  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएका कारण आफुहरुलाई सहज भएको समेत वताएका छन । शिविरमा  १ सय ३८ जना वडाबासीले स्वास्थ्य परिक्षण गराएका  थिए  ।