काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।

बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ । ष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अघि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’

उनले श्रेष्ठले पटकपटक बोली फेरेको र बार्गेनिङमा उभिएको आरोप समेत लगाए । उनले अघि भने, ‘पार्टीले नगरिदिओस्, गर्‍यो भने म देखाइदिन्छु भन्नुभएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् । उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् ।