लामो समय रोकिएको घरजग्गाको कित्ताकाट खोल्ने तयारी भइरहेको छ । पैसा घरजग्गामा फसेर आर्थिक समस्या बढ्दै गएको भन्दै सरकारले कित्ताकाट खोल्ने तयारी गरेको हो । भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बताएपछि ब्यवसायीमा केही आसा पलाएको छ ।

बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

सोमबार पोखराबाट आएको उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेको छ, कित्ताकाट रोकिएको छ, बेचबिखन रोकिएको छ, पूँजीको अभाव हुनुको एउटा कारण त्यो हो भन्ने कुराले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भएपनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने, त्यसो गर्‍यो भने अहिलेको क्राइसिस म्यानेज गर्छ भनेर हुन सक्ने जति कोशिस गरेका छौं ।’

सरकारले यसै वर्ष ल्याएको भू–उपयोग नियमावलीका कारण स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्ने ब्यवस्था छ । यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्नुपर्ने नियम त्यसमा राखिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले बजारमा पैसा अभावको कारण जग्गा वर्गीकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले ब्याजदरलाई एकल अंकमा झार्ने आफ्नो प्रयास रहेको पनि बताए ।