राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको साथ लिएर प्रदेश १ मा सरकार निर्माण गर्ने योजना बनाएको नेकपा एमालेलाई दुबै दलले साथ नदिने घोषणा गरेका छन् ।

चुनाबमा तालमेल गरेर गरेका दुई पार्टीलाई मिलाउँदा प्रदेशमा सरकार निर्माण गर्न आवश्यक सांसद संख्या ४७ पुग्ने भएपछि उत्साहित भएको एमालेलाई दुबै दलका नेताले निराश बनाउने अभिव्यक्ति दिएका छन् ।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनाबी तालमेल मात्र भएकोले चुनाबसँगै सहकार्य सकिएको घोषणा गरेका थिए । उनले एमालेसँग जसपाले गठबन्धन नगरेको स्पष्ट पार्दै आगामी दिनमा एजेन्डाको आधारमा सरकारमा सामेल हुने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्ने बताए ।

प्रदेश १ प्रदेशसभाको ९३ सांसदमध्ये समानुपातिक परिणामलाई आँकलन गर्दा एमालेले एक्लै ४० सिट जितेको छ । उसलाई सरकार निर्माण गर्न ७ सांसदको समर्थनको खाँचो छ । एमालेसँग तालमेल गरेर चुनाबमा गएको ६ सिट जितेको राप्रपा र १ सिट जितेको जसपाले सहयोग गरे सरकार निर्माण गर्न बहुमत पुग्छ । सत्तारुढ गठबन्धनमा भने काँग्रेसको २९, माओवादी केन्द्रको १३ र एकीकृत समाजवादीको ४ सिटसहित ४६ सांसद छन् ।

जसपाले एमालेलाई सहयोग नगर्ने संकेत गरेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार निर्माणमा एमालेसँग सहकार्य हुने कुरालाई अस्वीकार गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सरकारमा जाने विषयलाई प्राथमिकतामै नराखेको बताएका छन्। गृहजिल्ला झापामा रहेका उनले टेलिफोन सम्पर्कमा भने, ‘सरकारमा जाने कुरा प्राथमिकतामा नरहेकोले राप्रपा मिसाएर कसैको बहुमत पुग्ने वा गठबन्धन भन्ने कुराको अर्थ छैन ।’

उनले चुनावी गठबन्धन कायम रहेको कुरा पनि अस्वीकार गरेका छन् । ‘सरकार प्राथमिकतामा नभएपछि चुनाबी गठबन्धनबारे के गर्ने भन्ने कुरा पनि प्रष्ट भएको छैन,’ उनले भने, ‘सबै नतिजा आइसकेपछि केन्द्रीय कार्यसमितिमा छलफल गरेर धारणा बनाउँछौं ।’

जसपा र राप्रपाले गठबन्धन कायम नरहेको बताएपछि उनीहरुको साथमा प्रदेश १ सरकार गठन गर्ने सोच बनाएको एमालेलाई धक्का लागेको छ । ‘सत्तारुढ गठबन्धन भने यसबाट हौसिएको छ । जसपाले एमालेसँग गठबन्धन टुटेको घोषणा गर्नुको अर्थ जसपा हामीसँग आउँछ भन्ने स्पष्ट हुन्छ’ गठबन्धनमा आबद्ध एक नेताले भने, ‘राप्रपाले सरकारमा सहभागी नभएपनि सरकार बनाउनसक्ने शक्तिलाई समर्थन गर्ने संकेत गरेकोले गठबन्धनको सरकार निर्माण गर्न अब सहज छ ।’

प्रदेश १ मा नेकपा एमालेका स्थायी समिति सदस्य हिक्मतकुमार कार्की एमालेबाट मुख्यमन्त्रीको आकांक्षी छन् । आफूहरुले सहकार्य गरेका दलहरुको बहुमत प्रदेशसभामा आएकोले सरकार आफूहरुकै बन्ने उनको दावी छ । त्यसको लागि पहल भइरहेको उनले बताएका छन् ।