काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।

लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

लिङ्देनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए ।

झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् ।