विनय प्रधान धरान । सर्वसाधारणको जग्गा सर्दुजलाधार क्षेत्रभित्र परेको भन्दै रोक्का भएपछि धरान १३ का स्थानीय हरि कार्कीको संयोजकत्वमा पहल समिति निर्माण भएको छ । समितिले पीडितसँग छलफल गर्ने, मालपोत कार्यालयलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर स्थानीय सरकारलाई समेत गुहारेको छन् ।

सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ ले आइतबार धरानस्थित मालपोत कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सर्दू जलाधारको नाममा जनताले अनावश्यक दुःख पाएको भन्दै समस्या समाधानका लागि उनीहरुले मालपोत कार्यालय र स्थानीय सरकार  गुहारेका हुन् । साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समितिले  २०१७ सालमा नगर पञ्चायत भएको धरान उपमहानगरपालिका लाई २०३३ सालमा राजा वीरेन्द्रले सर्दू जलाधार क्षेत्र घोषणा गरेको थाहा बताउदै जलाधार क्षेत्रको नाममा व्यक्तिको जग्गा रोक्का हुदा सम्पत्ति प्रयोग गर्न नपाएको उनीहरुले गुनासो गरे ।

यस्तै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले स्थानीयको समस्यामा धरान उपमहानगरपालिका सधै गम्भीर भएकोले यसको समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।

सर्दु जलाधारको नाममा सर्वसाधारणको जग्गा रोक्का भएपनि बैंकमा धितो राख्न, किनबेच गर्न नपाएपछि  धरान १३ र ४ का सर्वसाधारण मारमा परेका छन् । उनीहरुले केही समय अगाडि समस्या समाधानमा राजनीतिक दलहरुको भूमिका विषयमा राजनीतिक दलहरुसँग छलफल समेत गरेका थिए । त्यसबेला राजनीतिक  दलहरुबाटसमेत समस्या समाधान गरिदिने आश्वासन पाएका थिए ।