साना साना कामका लागि पनि सरकारी योजना पर्खिदा काम ढिलो हुने तथा कतिपय अवस्थामा काम नै नभएका उदाहरणहरु धेरै रहेका छन । यसरी काम नहुदाँ सेवा लिनबाट आफैहरु बन्चि र समस्या आफैहरुले झेल्नु पर्ने तर्फ मध्यनजर गर्दै सुनसरीको धरान उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १४ झोलुगेंपुल याख्या टोलवासीले खानेपानी समस्याको समाधान आफैहरु मिलेर गरेर उदाहरण वनेका छन । 

    धरान उपमहानगपालिका क्षेत्रमा खानेपानीको समस्या पुरानै हो । धरानमा चुनावको समयमा सबै भन्दा बढी चुनावी मुद्धा समेत खानेपानीको हुने गरेको छ । तर पनि धराने जनताहरुको खानेपानीको समस्या समाधान हुन सकिरहको छैन । चुनावी मुद्धा वनाएपनि वास्तविक रुपमा खानेपानीको समयमा समाधान गर्ने काम हुन नसकिरहेको समयमा याख्या टोलबासीहरु आफै जुटेर भालु खोलाको पानी ल्याएर ७० हजार लिटर क्षमताको ट्यांकीमा जम्मा गर्न सफल भएका हुन ।

   धरान उपमहानगरपालिका का हालमा नगरप्रमुख हर्क साम्पागंले पनि आफनो मुख्य चुनावी मुद्धा खानेपानीलाई वनाएका थिए । अहिले पनि साम्पागंले धराने जनताहरुलाई खानेपानी उपलव्ध गराउन श्रमदानमा जोड दिदै आफैपनि श्रम गरिरहेका छन । तर याख्या टोलवासीहरुले अरु कसैको सहयोग नलिइ आफैहरु जुटेर खानेपानीको समस्या समाधान गरेको छन । धरान उपमहानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीयहरु आफै जुटे कसैसंग सहयोग माग्नु नपर्ने र कसैलाई गुहार्नु नपर्ने उदाहरण याख्या टोलबासीले आफै खानेपानीको समस्या सममाधान गरेर पेश गरेको वताउछन ।

विगत देखि सो क्षेत्रका स्थानीयले खोलाबाट सिधै पानी ल्याएर प्रयोग गर्दै आएकोमा पानी ट्यांकी समेत निर्माण गरिएपछि पानी जम्मा गर्न सकिने भएपछि हिउँदमा पनि समस्या नहुने स्थानीयले विश्वास गरेका छन ।

पानी आउने र ट्यांकीमा जम्मा गर्ने मात्र नभएर खानेपानीलाई शुद्धता र आगलागीको विपद आइपर्दाको समयमा  पानी सकिने गरी व्यवस्थापन मिलाइएको पानी ट्यांकी निर्माणको डिजाइरनर निरकुमार राइले जानकारी दिए ।

एउटा घरमा पानी नआउने समस्या भएपनि अर्को घरमा आउने, ओभरप्लु हुदा ट्यांकीमा राखिएको झण्डा माथि आउने, झण्डा तल हुदा पानी नभएको संकेत गर्ने, पानी परेको बेला अथवा धमिलो पानी आएमा ट्यांकीमा नहाली सिधै वाइवास गर्न सकिने लगायतका व्यवस्था समेत मिलाइएको छ ।

यो ट्याकीबाट १२ घर परिवारको खानेपानी समस्या समधान हुने र केही घरमा जडान गर्न बाकी रहेको स्थानीयको भनाई छ । दीर्घकालीन सोचका साथ निर्माण गरिएको ट्यांकीका कारण धरानमा हिउदको समयमा चरम खानेपानी अभाव भएको समयमा पनि यो टोलमा खानेपानी समस्या नहुने विश्वास गरिएको छ ।