धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ ।

नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।

मेयर हमालले लक्ष्मी नारायण मन्दिरका श्री १००८ स्वामी देवराज आर्चायमार्फत उक्त गाडीको चावी स्वास्थ्य शाखाका प्रमुख कृष्णराज बोहरालाई हस्तान्तरण गरेका छन् ।

मेयरमा निर्वाचित भएदेखि नै निजी गाडी चढ्दै आएका हमालले उक्त सरकारी गाडी १९ वटै वडामा मासिक रुपमा सञ्चालन गरिने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग गरिने बताए ।

उनले मासिक कार्यतालिका अनुसार भाटभटेनी सुपरमार्केटसँगको सम्झौताअनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनबाट नगरबासीले स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवाको लाभ लिन सक्ने बताए ।

उनले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने बताउँदै विस्तारै सेवालाई थप सुदृढ गरेर लैजाने बताए ।

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियान अन्तरगत औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने योजना पनि बनाइरहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णराज बोहराले साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने बताए ।