काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभएको छ ।

बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । देशका विभिन्न स्थानमा दरबन्दी खाली भए पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो ।

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूमा जुनकुनै बेला जुनसुकै क्षेत्रमा जानुपर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।