एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।

शनिबार मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गर्‍यो।

 नेपालले शुक्रबार भएको खेलमा भुटानमाथि जित निकालेको थियो।

शनिबार पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा १०७ रन जोड्यो।

नेपालका लागि इन्दू बर्माले नटआउट २८ रन  र कप्तान रूबिना क्षेत्रीले नटआउट ३४ रन जोडे।

इन्दूले ३३ बलमा २ चौका र रुबिनाले २७ बलमा ४ चौका हिर्काए।

ओपनरद्वय ज्योती पाण्डेले १५ रन र विन्दू रावलले ११ रनको योगदान दिए।

सीता राना मगर र काजल श्रेष्ठ ५-५ रनमा आउट भए। बलिङमा कुवेतकी मरिएमा हैदरले २ विकेट लिइन्।

१०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन जोड्न सक्यो।

उसका लागि प्रयदा मुरलीले ३१ रन र कप्तान एम्ना तारिकले १४ रन जोडे। बलिङमा नेपालकी सीता राना मगरले २ विकेट लिइन्।

जितसँगै नेपाल समूह ‘ए’ मा चार अंक जोड्दै शीर्ष स्थानमा छ।

अब नेपालले तेस्रो खेलमा सोमबार बहराइनसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार प्रतिस्पर्धा गर्नेछ।