काठमाडौं  । स्थानीय तहको निर्वाचन सकिएसंगै अब प्रदेश र संघको निर्वाचनको तयारी सुरु भएको छ । सरकार निर्वाचनको मिति घोषणा गर्न छलफलमा जुटेको छ भने दलहरु उम्मेदवार चयनको गृहकार्यमा लागेका छन । 

सरकारका मन्त्री र सत्ता गठवन्धनका नेताहरु कात्तिकको अन्तिम साता वा मंसिर भित्र निर्वाचनको मिति घोषणा हुने बताइरहेका छन । निर्वाचन आयोगलाई तयारी गर्न कम्तिमा १२० दिन अघि  मिति घोषणा गर्नुपर्ने प्रावधान छ । 

राजनीतिक दलहरु उम्मेदवार चयनका लागि आन्तरिक गृहकार्यमा जुटिरहेकाबेला उम्मेदवारका आकांक्षीहरु पनि बिस्तारै खुल्न थालेका छन । दलबाट उम्मेदवार बन्न चाहनेहरुले आन्तरिक लबिङ तीव्र पारेका छन भने स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरुले पनि चुनावी अभियान सुरु गरिसकेका छन । 

सर्वाधिक चासो रहेको काठमाडौंमा धेरैले उम्मेदवार बन्न चासो देखाएका छन । कतिपय नेताहरुले आफनो निर्वाचन क्षेत्र घोषणा गरिसकेका छन भने कतिपयले बृहत परामर्शपछि मात्रै चुनावी क्षेत्र तोकिने जनाएका छन । 

 काठमाडौं क्षेत्र नम्बर १ मा पनि धेरैले आँखा गाडेका छन । कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएको यो क्षेत्रमा अहिले राप्रपाका नेता शोभित उप्रेती, नेकपा माओवादी केन्द्रका अनिल शर्मा, विवेकशील साझा निकट पुकार बम लगायतले चासो देखाएका छन । 

विश्लेषकहरुका अनुसार कांग्रेस नेता सिंहको अवस्था कमजोर भएपछि यो क्षेत्रबाट राप्रपाका शोभित उप्रेती बलियो देखिएका छन । काठमाडौं महानगरको मेयरमा पत्नी सृजना सिंह हारेपछि काठमाडौमा सिंह कमजोर भएको आँकलन गरिएको छ । कांग्रेस भित्रैबाट उनलाई असहयोग भैरहेकाले सिंहको जित्ने सम्भावना निकै कमजोर देखिन्छ । 

यो क्षेत्रमा नेकपा एमालेले बलियो उम्मेदवार फेला पार्न सकेको छैन । एमालेले यो क्षेत्रमा राप्रपाका शोभित उप्रेतीलाई समर्थन गर्न सक्ने संकेत गरेको छ । उप्रेती समाजसेवी र व्यवसायी पनि भएकाले उनको अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका स्थानीय नेताहरुसंग पनि घनिष्टता छ । 

नेकपा माओवादी केन्द्रका अनिल शर्मा पनि उप्रेतीप्रति लचक देखिन्छन । शर्मा यसअघि प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।