काठमाडौं ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित भएको छ  ।

डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै अस्पताल प्रशासनले हालको लागि बीमा कार्यक्रम नै स्थगित भएको बताएको छ  ।

अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्मको छ अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

‘सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा स्थगित गर्नुपरेको हो ।

‘आठ करोड पैसाको भुक्तानी नहुँदा पनि सेवा दिइरहेका थियौं । तर, धेरै समयको भुक्तानी बाँकी हुँदा अन्य सेवा प्रभावित भयो । 

हाल टिचिङमा मात्रै दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउने, कुनै किसिमको आर्थिक कठिनाइ विना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।