पर्सा । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या गरेको भन्दै ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवी छन् । 

राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरुलाई ७ दिन हिरासतमा राख्न् पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको उनको भनाइ छ । 

जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव भेटिएको थियो । 

राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यसै घरको एक सदस्यसँग यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएपछि परिवारका सदस्यले राजेशमाथि कुटपिट गरी हत्या गरेका थिए । 

उनको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालकसहित परिवारका पाँचै जनाको संलग्नता रहेको देखिएको छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनकै भएको पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।