उर्लाबारी । नेपाली काँग्रेसबाट उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले एकीकृत बस्तीका नाममा एमालेले सुकुम्बासीलाई तितरवितर पार्न खोजेको बताएका छन् । 

विहीबार उर्लाबारी-७ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेद्वार फागोले सुकुम्बासीका नाममा एमालेले भ्रम छरेको बताए । 

‘काँग्रेसलाई बहुमत दिनुहोस उनले भने, ‘जहाँ सुकुम्बासी बसेका छन्, त्यहीँ धनीपूर्जा वितरण गर्छौं ।’ सुकुम्बासीहरुलाई धनीपूर्जा वितरणको तयारी भइरहेको बताउँदै उनले अब ३ प्रतिशत मात्र काम बाँकी रहेको जनाए । आफ्नो नेतृत्वमा नगरपालिकाले सुरु गरेका कार्यहरुलाई एमालेले घोषणा पत्रमा राखेर जनतामा सस्तो लोकप्रियता कायम गर्न खोजेको उनले बताए । 

वडा समायोजनको काम थालनी भइसकेको जनाउँदै फागोले यस विषयलाई पनि एमालेले चुनावी एजेण्डा बनाएर भ्रम छर्न खोजेको बताए । 

कोभिड महामारी, मुद्दामामिलाले लामो समय नगरको काम ठप्प भएको बताउँदै उनले साढे ३१ महिना काम गर्दा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको बताए ।