इटहरी । सगरमाथा युथ क्लब विराटचोकले १२ औं  संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ ।

इटहरी रंगशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मिलन राईले गोल गरे । गोलकिपर प्रिसोले भने बाहिर प्रहार गरे ।

पेनाल्टीमा आर्मीका टेकबहादुर बुढाथोकी, विकाश खवास र विवेक बस्नेतले गोल गरे  ।

गौतम श्रेष्ठको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले बचाए भने सन्तोष तामाङले बाहिर प्रहार गरे ।

उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गरेको छ भने उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।  

यस अघि सगरमाथाले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ४-२ गोल अन्तरले हराएको थियो  ।

आर्मीले रोलिङ क्लब झापालाई हराएको थियो ।