पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा त्रिशाली पूजा तथा मेलाको अवसरमा कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ ।

फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा भारत सहित आठ टीमको सहभागीता रहने छ ।

कुम्मायक–१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो) ले ब्रदर्श युनाइटेड क्लव झापाको सामना गर्नेछ ।

 दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङबीच हुनेछ । प्रतियोगिताको चौंथो खेलमा चैत ३० गते संगम एफसी सुनसरी र केकेएफसी झापा आमने–सामने हुनेछन् ।gold cup.jpg1

प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लव (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श बिरुद्ध मैदान उत्रिनेछ ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र बिधागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंयाँ प्रदान गरिने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिनुभयो ।

त्रिशाली पूजा तथा मेलाको अवसरमा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपसँगै भलिवल र व्याडमिन्टन प्रतियोगिता, स्रष्टा सम्मान साथै विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिने कुम्मायक–१, का वडा अध्यक्ष एवं पूजा तथा मेला मूल समारोह समितिका अध्यक्ष देबेन्द्र कुमार लाओतीले बताउनुभयो ।