पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।  आइतबारको खेलमा जित हासिल गर्दै समूह बि बाट न्यु स्टार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेसँगै  सेमिफाइनल खेल्ने सबै टिमको टुङ्गो लागेको छ ।  

समूह ए बाट यस अघि नै टेन नवोदय र शिखर एफसी सेमिफाइनल प्रवेश गरिसकेको छ भने समूह बि बाट न्यु स्टार र द रियल ब्रदर्श सेमिफाइनल खेल्ने भएका हुन । 

द रियल ब्रदर्शले सोमबार देविगञ्ज एफसिसँग खेल्नेछ । सो खेलको परिणामले रियल ब्रदर्शको सेमिफाइनल यात्रामा कुनै असर पार्ने छैन । तर आजको खेल केबल समूह विजेता वा उपविजेता बन्ने भन्नेमा केन्द्रित हुनेछ ।  

टेन नवोदय र शिखर एफसि समूह ए बाट क्रमश समुह बिजेता र उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् । 

आइतबारको खेलमा पराजित बनेको सिरिजङ्गा प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको खेलमा न्यु स्टार एफसीले २-१ गोल अन्तरले सिरिजंगा एफसीलाई पाखा लगाए पछि सिरिजंगा लिगबाट बाहिरिएको हो । 

पहिलो हाफमा खेलको ९ औ मिनेटमा सिरिजंगाका  सफल आङ्बोहाङ्ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ३८ औं मिनेटमा न्यु स्टारका  समीर मगरले १ गोल फर्काएपछि खेललाई बराबरी बनाएका थिए । खेलको अतिरिक्त समयमा सिरिजङ्गाका गोल रक्षक अगाडि बढेको अवस्थामा विपक्षीका फर्वाड जुनियर सावाँले खाली पोष्टमा गोल लगाएका थिए ।  

 खेलको म्यान अफ द म्याच न्यु स्टारका अमर याक्खा घोषित भएका थिए । याक्खालाई कार्यक्रमको प्रमुख अतिथि स्थानिय राजनीतिककर्मी युवराज बास्कोटा, खेल आयोजक समितिका अध्यक्ष सन्जीव गिरी, दिपक पुलामीले ट्रफी, मेडल र ३ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।