पथरी । मोरङको पथरीशनिश्चरे नगरमा फागुन १९ देखी दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग हुने भएको छ । 

बिहिबार पथरीशनिश्चरेको सुम्निमा सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ देखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने आयोजकले जनाएको हो । 

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग समितिको आयोजनामा हुने उक्त प्रतिस्पर्धामा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन गैरहेको उक्त प्रतियोगितामा वाईजीएफटी एफ.सी., देवीगञ्ज एफ.सी, शिखर एफ.सी., सिरिजंघा एफ.सी., १० नवोदय, न्यू स्टार एफ.सी., द रियल ब्रदर्शले प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ क्लबको रुपमा वाई.एफ.सी. ले इन्ट्री गरेको छ ।

पत्रकार सम्मेलनमा ८ वटै क्लबका अनरहरु उमेश राई, सागर भट्टराई, नवीन ढकाल, विरेन साम्बा, मिलन श्रेष्ठ, सरोज लिम्बु, आइतराज राई, विरोज मगरको उपस्थितिमा ग्रुप ‘ए’ र ‘बी’ विभाजन गरिएको थियो ।  ग्रुप ‘ए’मा वाईजीएफटी, शिखर, १० नवोदय र वाई.एफ.सी. रहेका छन् भने ग्रुप ‘बी’मा देविगन्ज, सिरिजंघा, न्यू स्टार र द रियल ब्रदर्श छन् । 

पहिलो सस्करणमा आयोजकले प्रतियोगिता संचालनका लागि स्थानिय सघसस्था सग समन्वय गरेको थियो । यसपटक भने इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका सग समन्वय गरेर प्रतियोगिता संचालन गर्न लागेको हो । 

पहिलो सस्करणमा प्रथम पथरीशनिश्चरे प्रिमियर लिग नाम दिएको भएता पनि दोस्रो सस्करणमा प्रतियोगिताको शिर्षक परिवर्तन गरी “इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८” राखिएको आयोजक कमिटीका संयोजक संजिव गिरीले बताए ।

प्रतियोगिताको सबै खेलहरु पथरीशनिश्चरे-१ को जाँतेमोडमा अवस्थित खेल मैदानमा हुने भएका छन् ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । 

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लवलाई तयारीका लागि नगद रु. ३५ हजारका दरले रकम प्रदान गर्ने आयोजकका उपाध्यक्ष बिक्की राईले बताए ।