धनकुटा । नेपाली काँग्रेस पार्टी नीति, विधि, विधान र सिद्धान्तमा अडिग रहेर अघि बढ्न सकेमात्र आगामी निर्वाचनमा जित हासिल हुने नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले बताएका छन् । 

आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा सहज रुपमा जित्न पार्टी नीति, विधि र सिद्धान्तमा चल्नुपर्ने उनको भनाई थियो । 

शनिबार धनकुटाको राजारानी बजारमा आयोजित चौबिसे गाउँपालिका पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फागोले पार्टी शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए । साथै, उनले प्रदेश अधिवेशनमा आफूलाई आमूल्य मत दिई विजयी गराउने चौबिसे गाउँपालिकाका पार्टी प्रतिनिधिलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा काँग्रेस धनकुटा जिल्ला सभापति दिनेश राईले देखिने, सुनिने र महसुस हुने पार्टी बनाउने अभियानमा लाग्ने बताए । यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले पार्टीमा १४ औँ महाधिवेसनले पुस्ता हस्तानतरण गरेको र अवको यात्रा भनेको  रुपान्तरणको दिशामा अघि बढ्दै आर्थिक समृद्धिको बाटो पहिल्याउनु पर्ने धारणा राखे । 

कार्यक्रमका सभापति तथा काँग्रेस चौबिसे गाउँ समितिका सभापति विजु राईले आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा काँग्रेसलाई विजयी गराउन लागिपर्ने बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि हर्क चेम्जोङ, मोरङ १ (क) का क्षेत्रीय सभापति नरबहादुर मोक्तान, पूर्व महाधिवेशन प्रतिनिधि दुर्गा सुवेदी, तरुण दल धनकुटाका जिल्ला उपसभापति धिरज तामाङलगायतले मन्तव्य राखेका थिए । पार्टी कार्यालय उद्घाटनकै अवसरमा नेकपा एमाले पार्टी परित्याग चौबिसे वडा नम्वर २ बाट तिल माया मगर, वडा नम्वर २ बाट रा.प्र.पा परित्याग गरी कल्पना मगर र चौबीसे वडा नम्वर ६ बाट लिम्बुवान परित्याग रबिन लिम्बूले नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई प्रमुख अतिथि सहमहामन्त्री फागो, जिल्ला सभापति दिनेश राईलगायतले पार्टीमा स्वागत गरेका थिए ।

साथै चौबिसे गाउँ कार्यसमितीको कोषाध्यक्षमा कृष्ण लिम्बू सर्बसम्मत मनोनित भएका छन् । भने कार्य समितिको सदस्यमा नेकपा एमालेको वडा अध्यक्ष परित्याग गरी काग्रेसमा प्रवेश गरेका टेक प्रसाद रानालाई मनोनित गरिएको गाउपालिका सभापति बिजु राईले बताए ।

यस्तै कार्यक्रममा चौबिसे गाउँपालिकाको तरुण सचिबमा गज बिक्रम लिम्बू र वडा नम्वर ६ को सभापतीमा सेसेहाङ्ग लिम्बू चयन भएको राईले बताए ।