इटहरी । सुनसरीको इटहरीमा माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । 

इटहरी उपमहानगरपालिकाको सहयोग तथा एरिना टेलिभिजनको आयोजनामा गोल्डकप प्रतियोगिता माघ ६ गते देखी १५ गते सम्म हुने भएको हो ।  

एक कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शिल्डको अनावरण गर्दै यस्ता खालका प्रतियोगिताले नगरपालिकाहरूले खेलक्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन समेत हुने बताइन् । उनले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागीता जनाउने बताउदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न गौतमले सुझाव दिइन् । IMG_0142

कोभिड १९ का कारण थला परेको खेलक्षेत्र बिस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेलक्षेत्रको बिकासमा थप सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले बताए । 

यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताउदै त्यसैको निरन्तरता स्वरूप खेल क्षेत्रको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा प्रदेश एकका नगरपालिकाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । इटहरी स्थित जनता मा.वि.को खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रथम विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् भने २५ लाख खर्च हुने छ ।