लिभरपुल इङ्ग्लिस काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै लिभरपुल अन्तिम चारमा प्रवेश गरेको हो ।

एन्फिल्डमा निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीसुट आउटमा धकेलिएको थियो । जसमा लेस्टरका दुई खेलाडी चुके । लिभरपुलका भने एक खेलाडी पेनाल्टीमा चुके ।

लिभरपुलका ताकुमी मिनामिनो चुक्दा डिएगो जोटा, नेबी केइटा, एलेक्स ओक्स्लेड–च्याम्बरलेन, रोबर्टो फिर्मिनो र जेम्स मिल्नरले गोल गरे । लेस्टरका युरी टाइलेमन्स, जेम्स मडिसन, मार्क अल्ब्रिघटन, केलेची इहेनाचोले गोल गर्दा लुक थोमस र रियान बर्नट्रान्ड चुकेका थिए ।

त्यसअघि खेलको निर्धारित समयमा लिभरपुलका च्याम्बरलेन, जोटा र मिनामिनोले एक गोल गरे भने लेइस्टरका जेमी भार्डीले दुई तथा मडिसनले एक गोल गरे ।