काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनापछि प्रहरीले पत्रिकाको कार्यालयमा छानबिन थालेको छ। बिहीबार बिहान प्रहरीको टोली काठमाडौंस्थित जनआस्था साप्ताहिकको कार्यालयमा पुगेर श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरी अनुसन्धान अघि बढाएको कर्मचारीहरूले बताएका छन्।

श्रेष्ठलाई प्रहरीले बुधबार राति उनको निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि राति करिब १ बजे पनि प्रहरीको टोली उनको निवासमा पुगेको बताइएको छ। त्यसको केही घण्टापछि बिहीबार बिहान प्रहरी कार्यालयमै पुगेको हो।

प्रहरी टोलीले कार्यालयमा रहेका श्रेष्ठको कार्यकक्ष तथा समाचारकक्षमा छानबिन गरेको जनआस्थाका कर्मचारीले बताएका छन्। यद्यपि, कार्यालयमा प्रहरी किन पुगेको हो र के विषयमा अनुसन्धान भइरहेको छ भन्नेबारे प्रहरीले अहिलेसम्म विस्तृत औपचारिक जानकारी सार्वजनिक गरेको छैन। श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकारसम्बद्ध संस्थाले बुधबार रातिदेखि नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए।

नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरी मध्यरातमा निवासमा छापा मारिएको घटनाप्रति आपत्ति जनाउँदै पत्रकारको संवैधानिक अधिकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ।

श्रेष्ठ पक्राउ र त्यसपछि जनआस्था कार्यालयमा भएको प्रहरी छानबिनको घटनाले नेपाली पत्रकारिता क्षेत्रमा थप चासो उत्पन्न भएको छ। पत्रकारसम्बद्ध संस्थाहरूले घटनाको प्रकृति र प्रहरी कारबाहीबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिरहेका छन्।

हालसम्म श्रेष्ठ पक्राउ पर्नुको कारण तथा कार्यालयमा गरिएको छानबिनको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।