इलाम । इलाममा गत आर्थिक वर्ष राजस्व सङ्कलन अघिल्लो वर्षको तुलनामा झण्डै आधाले घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ५२ करोड ८६ लाख ५८ हजार ३७८ रुपैयाँ मात्र राजस्व सङ्कलन भएको हो। सङ्घीय तथा कोशी प्रदेशअन्तर्गतका सरकारी कार्यालयमार्फत सङ्कलन भएको उक्त रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५० करोड ६७ लाख ६९ हजार ५०९ रुपैयाँ अर्थात् ४८.९४ प्रतिशतले कम हो।

कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार आव २०८२/८३ मा सङ्घीय कार्यालयमार्फत ३४ करोड १७ लाख १२ हजार ३९८ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा सङ्घीय कार्यालयमार्फत ८४ करोड ८२ लाख ७६ हजार ४०७ रुपैयाँ राजस्व उठेको थियो।

प्रदेशतर्फ भने राजस्व सङ्कलनमा खासै ठूलो परिवर्तन देखिएको छैन। गत आवमा कोशी प्रदेशअन्तर्गतका कार्यालयमार्फत १८ करोड ६९ लाख ४४ हजार ९७९ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आवमा प्रदेश कार्यालयमार्फत १८ करोड ७१ लाख ५१ हजार २८० रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यसरी हेर्दा इलाममा राजस्व सङ्कलन घट्नुको मुख्य प्रभाव सङ्घीय कार्यालयतर्फ देखिएको छ। प्रदेश कार्यालयबाट सङ्कलन हुने राजस्व भने अघिल्लो वर्षको हाराहारीमै रहेको तथ्याङ्कले देखाएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष स्थानीय तहहरूले खर्च गर्न नसकेका सशर्त, समपूरक र विशेष अनुदानका रकम समयमै फिर्ता गरिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा एकै वर्षमा ५० करोडभन्दा बढी राजस्व घटेपछि इलामको राजस्व सङ्कलनको अवस्था चासोको विषय बनेको छ।