काठमाडौं । वर्षौँअघि प्रदर्शनमा आएका नेपाली चलचित्रलाई ठूलो पर्दामा पुनः हेर्ने अवसरसहित सुरु गरिएको ऐतिहासिक चलचित्र प्रदर्शन शृङ्खला ‘ओल्ड इज गोल्ड’ उत्साहजनक दर्शक सहभागितासहित सम्पन्न भएको छ। बुधबार ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शनसँगै सातदिने चलचित्र शृङ्खला औपचारिक रूपमा सकिएको हो।

पुराना नेपाली चलचित्र पुनः ठूलो पर्दामा ल्याउँदा दर्शकको सहभागिता कस्तो होला भन्ने सुरुवाती जिज्ञासा थियो। तर सात दिनसम्मका प्रदर्शनमा सबै शोले उल्लेख्य दर्शक पाएपछि पुराना नेपाली चलचित्रप्रतिको दर्शकको रुचि अझै कायम रहेको देखिएको छ।

समापन कार्यक्रममा वरिष्ठ कलाकार शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टिका पहारी, सुष्मा शाही, निर्देशक लक्ष्मीनाथ शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रभा ढकाललगायतको उपस्थिति थियो।

कार्यक्रममा नयाँ पुस्ताका कलाकार तथा चलचित्रकर्मीको पनि सहभागिता देखिएको थियो। फिल्म ८८‘गौंथली’८८का कलाकार अरुण क्षेत्री र सिम्रन खड्का, निर्देशक डा। कपिल रिजाल तथा निर्माता सुमन गिरीलगायत कार्यक्रममा सहभागी थिए।

समापन समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, वरिष्ठ अभिनेता शिव श्रेष्ठले अभिनेता अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक डा। कपिल रिजाललाई र वरिष्ठ कलाकार टिका पहारीले निर्माता सुमन गिरीलाई खादा लगाएर आशीर्वाद दिएका थिए। वरिष्ठ कलाकार सन्तोष पन्तले वितरक करण क्रेजीलाई समेत खादा लगाएर सम्मान गरेका थिए।

ओल्ड इज गोल्ड’ अन्तर्गत सात दिनमा नेपाली चलचित्रका विभिन्न कालखण्ड प्रतिनिधित्व गर्ने ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिएका थिए। शृङ्खलाको उद्घाटन समारोहमा भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले दीप प्रज्वलन गरेका थिए।

चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास र विकासक्रमबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले ‘ओल्ड इज गोल्ड’ आयोजना गरेको हो। पुराना चलचित्रलाई ठूलो पर्दामा पुनः प्रदर्शन गर्दा अनुभवी पुस्ताले आफ्नो चलचित्र यात्रा सम्झने र नयाँ पुस्ताले नेपाली सिनेमाको इतिहास नजिकबाट बुझ्ने अवसर पाएको आयोजकको विश्वास छ।

सातदिने प्रदर्शनमा देखिएको दर्शकको उत्साहले नेपाली चलचित्रका पुराना कृतिलाई संरक्षण र पुनःप्रदर्शनमार्फत नयाँ पुस्तासम्म पुर्‍याउन सकिने सम्भावनासमेत देखाएको छ।