न्युयोर्क । अमेरिकी फुटबल स्टार ट्राभिस केल्सीले गायिका टेलर स्विफ्टसँगको विवाहबारे पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। उनले गत जुलाई ३ मा न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा भएको विवाह समारोहलाई ‘आफ्नो जीवनकै उत्कृष्ट रात’ भनेका छन्।

बुधबार मिसौरीमा कन्सास सिटी चिफ्सको प्रशिक्षण शिविरमा पत्रकारहरूसँग कुराकानी गर्दै केल्सीले म्याडिसन स्क्वायर गार्डेनजस्तो चर्चित खेलस्थलमा विवाह गर्न पाउनु आफ्नो बाल्यकालदेखिको सपना पूरा भएको बताए।

त्यो स्थानमा विवाह गर्न पाउनु निकै विशेष थियो। खेलकुदको सबैभन्दा ठूलो स्थलमध्ये एकमा विवाह गर्ने मेरो बाल्यकालदेखिको सपना थियो,” उनले भने।केल्सीले विवाह समारोहलाई जीवनकै उत्कृष्ट रातका रूपमा वर्णन गर्दै कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरे। उनका अनुसार उक्त रात अत्यन्तै रमाइलो र अविस्मरणीय थियो।


विवाह समारोहका आधिकारिक तस्बिरहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन्। समारोहमा ह्यु ग्रान्ट, जेसन सुडेइकिस, गायक बेन्सन बुन तथा मोडल जिजी हडिडलगायत चर्चित व्यक्तित्वको सहभागिता रहेको बताइएको छ। निजी समारोह आयोजना गर्न पाउने वातावरण बनाइदिएको भन्दै केल्सीले म्याडिसन स्क्वायर गार्डेनका सञ्चालकलाई समेत धन्यवाद दिए। आफ्नो चाहनाअनुसार गोप्य र निजी ढंगले विवाह गर्न सहयोग गरेको भन्दै उनले सबै व्यवस्था ‘उत्तम’ रहेको बताए।

विवाहको दिन अमेरिकामा अत्यधिक गर्मी रहेको प्रसंगमा केल्सीले समारोहस्थलको वातानुकूलन प्रणालीबारे समेत ठट्टा गरे। “एसीले निकै काम गरिरहेको थियो,” उनले भने। विवाहलाई अन्तिम समयसम्म गोप्य राखिएको थियो। स्विफ्ट र केल्सीले विवाह गरिसकेका हुन् वा यो केवल एउटा निजी पार्टी हो भन्ने विषयमा समेत अन्योल कायम थियो। तर, समारोहस्थलमा चर्चित पाहुनाहरू गाउन र सुटमा प्रवेश गरेपछि तथा रंगशालाका ठूला स्क्रिनमार्फत उनीहरू आधिकारिक रूपमा विवाहित भएको घोषणा भएपछि विवाहबारेको अन्योल हटेको थियो।

विवाहपछि अब केल्सी भने अमेरिकी फुटबलमा फर्किएका छन्। उनले आफ्नो ‘अफ–सिजन’ रमाइलो भएको बताउँदै प्रशिक्षण र खेलमा फर्किन आफू उत्साहित रहेको बताए। आगामी अक्टोबरमा ३७ वर्ष पुग्ने केल्सीले कन्सास सिटी चिफ्सबाट तीनपटक सुपर बाउल उपाधि जितिसकेका छन्। गत सिजन चिफ्स एक दशकयता पहिलोपटक एनएफएल प्लेअफमा पुग्न असफल भएको थियो।

उनको आगामी सिजन खेलजीवनको अन्तिम हुन सक्ने अनुमान भइरहे पनि केल्सीले सन्न्यासबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन्। बरु उनले आफू अझै खेलप्रति उत्तिकै समर्पित रहेको बताएका छन्। मलाई अझै यस खेलप्रति धेरै माया छ। गत वर्षभन्दा अझ राम्रो स्तरमा खेल्न सक्छु भनेर आफैँलाई प्रमाणित गर्न चाहन्छु,” उनले भने।

केल्सीले मैदानलाई आफ्नो ‘शरणस्थल’को संज्ञा दिँदै सहकर्मी खेलाडीहरूसँग समय बिताएर टोलीको तालमेल र खेल्ने शैलीलाई अझ बलियो बनाउनु आफ्नो लागि महत्वपूर्ण रहेको बताए। नयाँ सिजनमा आफूहरू अझ तीव्र तयारीका साथ अघि बढिरहेको उनको भनाइ छ।


बीबीसीबाट