भक्तपुर । दुई दिनअघि भक्तपुर बालकोटका एक युवाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मंसिर २१ गते राति पौने १० बजे सूर्यविनायक नगरपालिका २ बालकोटस्थित हनुमन्ते खोला किनारमा दुई जनाले कुटपिट गरी स्थानीय ३३ वर्षीय राजन श्रेष्ठको हत्या गरेका थिए। 

राजनको हत्या घटनामा संलग्न रहेको आरोपमा उनका साथीद्वय भक्तपुरकै २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङको लेटाङ घर भई बालकोटमा बस्दै आएका ३० वर्षीय प्रेम विश्वकर्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

लेनदेन विवादमा श्रेष्ठ र विश्वकर्माले पूर्वयोजना अनुसार हनुमन्ते खोला किनारमा पुर्याएर राजनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

प्रहरी अनुसन्धानले घटना हुनुभन्दा दुईदिन अगाडि देखि नै राजन श्रेष्ठलाई हेमन्त श्रेष्ठले प्रेम बिश्वकर्मासँग सल्लाह गरी हत्याको योजना बनाएको देखाएको छ।

सोही योजनाअनुसार मंसिर २१ गते राति गठ्ठाघर स्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठले सँगै बसेर चिया खान्छन्। डीएसपी पाण्डेका अनुसार चिया खाँदै गर्दा हेमन्त श्रेष्ठले राजन श्रेष्ठलाई ‘हनुमन्ते खोला पारी दाई पैसा लिएर आएको छ, त्यहाँ सम्म जाउँ’ भन्ने अनुरोध गर्छन्। राजन हेमन्तकै मोटर साईकलमा चढेर राजन पनि घटनास्थल नजिकैको फलामे पुलसम्म पुग्छन्।
 
त्यहाँबाट दुबै जना बालकोट जाने बाटोतर्फ पैदल हिँड्छन्। अध्यारो ठाउँमा हिँड्दै गर्दा एक्कासी पछाडीबाट प्रेम बिश्वकर्माले काठको फर्माले राजनको टाउकोमा प्रहार गर्छन्। राजन जमिनमा पछारिन्छन्। त्यसपछि दुबै मिलेर पटकपटक राजनलाई प्रहार गर्छन्।

घटनास्थल नजिकै बस्ने स्थानीयले कुटपिट गरिरहेको देखेपछि प्रहरीलाई खबर गर्छन्। महानगरीय प्रहरी वृत्त थिमीबाट प्रहरी टोली घटनास्थल पुग्दा आरोपी दुबै भागिसकेका हुन्छन्। 

गम्भीर घाइते राजनको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले बताए। साथीको हत्यापछि फरार भएका विश्वकर्मालाई घटनाको भोलिपल्ट काठमाडौंका जोरपाटीबाट र श्रेष्ठलाई मध्यपुर अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।