एजेन्सी ।  युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ टिमको टुङ्गो लागेको छ । बिहीबार राति स्पेनिस क्लब भिल्लारियलले इटालियन क्लब अटलान्टामाथि ३-२ गोलको जित निकालेपछि १६ वटै टिमको टुङ्गो लागेको हो । यससँगै इङ्ग्ल्यान्डका चार, स्पेनका तीन, इटाली र पोर्चुगल, फ्रान्सका दुई–दुई र नेदरल्यान्ड्स, अस्ट्रिया, जर्मनको एक–एक गरी १६ टोलीको टुङ्गो लागेको हो । 

साविक विजेता चेल्सी समूह ‘एच’को उपविजेताका रूपमा नकआउट चरण गरेको छ भने उपविजेता म्यानचेस्टर सिटी समूह ‘ए’को विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ । समूह ‘ए’ बाट उपविजेताका रूपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन प्रि–क्वार्टरफाइनल पुगेको छ । यस समूहबाट आरबी लेइपजिग र क्लब ब्रग बाहिरिए ।

यस्तै, ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘बी’को विजेताको रूपमा लिभरपुल तथा उपविजेताका रूपमा एथ्लेटिको मड्रिड पुगेको छ । लिभरपुल शतप्रशित जितसहित अघिल्लो चरणमा पुग्दा यस समूहबाट पोर्चुगलको पोर्टो र इटालियन एसी मिलान बाहिरिए । 

समूह ‘सी’बाट डच क्लब आयाक्स आफ्नो विजयी यात्रा कायमै राखेर अघिल्लो चरण पुग्न सफल भयो भने उपविजेताका रूपमा स्पोर्टिङ सिपी अन्तिम १६ मा पुग्यो । बोरुसिया डर्टमुन्ड र बेसिक्टस भने समूह चरणबाट आउट भए । 

रियल मड्रिड समूह ‘डी’को विजेता बन्दै नकआउट चरण प्रवेश गर्दा इटलियन च्याम्पियन इन्टर मिलान उपविजेताका रूपमा अघिल्लो चरण पुग्यो । यस समूहका शेरिफ र शक्तर डोनेस्क अघिल्लो चरण पुग्न असफल भए । 

जर्मन च्याम्पियन बायर्न म्युनिख समूह ‘ई’को विजेताका रूपमा अघिल्लो चरण पुग्यो । बायर्न यसपटक अन्तिम १६ पुग्ने एकमात्र जर्मन क्लब बन्यो । पोर्चुगलको बेन्फिकाले उपविजेताका रूपमा नकआउट चरणको टिकट काट्दा बार्सिलोना र डायनामो किभको यात्रा समूह चरणमै सीमित रह्यो ।

समूह ‘एफ’बाट म्यानचेस्टर युनाइटेड समूह विजेताका रूपमा तथा भिल्लारियल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । अटलान्टा र योङ्ग ब्वाइज भने बाहिरिए ।

फ्रान्सेली च्याम्पियन लिलेले समूह ‘जी’को विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाउँदा उपविजेताका रूपमा अस्ट्रियन क्लब आरबी साल्जबर्ग अघिल्लो चरणमा पुग्यो । यस समूहबाट सेभिल्ला र वुल्फसबर्ग आउट भए । 

समूह ‘एच’बाट युभेन्टस विजेता बन्दै अघिल्लो चरणमा पुग्दा साविक विजेता चेल्सी उपविजेता बन्यो । जेनित र माल्मो भने समूह चरणबाटै आउट भए ।