उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बुधवार विहान घोषणा भएको मत परिणाममा फागोले बर्तमान जिल्ला सभापति एवम संविधान सभा सदस्य डिकबहादुर लिम्बुको भन्दा ३३ मत बढी ल्याएर केन्द्रीय महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

विहान सम्पन्न मतगणना अनुसार फागोले ५ सय २२ मत र डिकबहादुर लिम्वुले ४ सय ८९ मत प्राप्त गरेका थिए । ६ सय ५९ मतदाता रहेको मोरङ क्षेत्र नं. १ मा ६ सय ३४ मत खसेको थियो । यस अघि फागो पुनः क्षेत्रीय सभापतिमा उठ्ने पक्कापक्की भएको थियो तर उनले क्षेत्रिय सभापतिको उम्मेद्वारी दर्ता नगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेपछि कार्यकर्ता आश्चर्यमा परेका थिए । 

फागोले क्षेत्रीय सभापतिमा उम्मेद्वारी नदिएपछि लेटाङ नगरपालिकाका मेयर शंकर राई सर्वसम्मत रुपमा क्षेत्रीय सभापति बनेका छन् । केन्द्रीय महाधिवेसन प्रतिनिधिमा क्षेत्र १ बाट सर्वाधिक मतका साथ फागो पहिलो स्थानमा निर्वाचित भए पनि बर्तमान जिल्ला सभापति डिकबहादुर लिम्बु दोस्रो र काग्रेसका युवा नेता उर्लाबारी-३ का अर्जुन कुमार तुम्रोक २ सय ८४ मतका साथ तेस्रो स्थानमा विजयी भएका छन् ।

मोरङ क्षेत्र नं. १ मा झुपडी देखी महलसम्मका काँग्रेसजनका सारथी, पाकादेखि युवा कार्यकर्ताका ढुकढुकी बनेका फागोले क्षेत्रीय सभापतिमा उम्मेद्वारी हाल्ने भएपछि धेरै कार्यकर्तामा उत्साह छाएको थियो । तर मनोनयन स्थलमा पुगेर फागोले केन्द्रीय महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराएका थिए । मनोनयनको समय सकिन केही मिनेटअघि अधिवेशन स्थल पुगेका फागोले जब महाधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता गराए तब कार्यकर्ताको मुहारको कान्ति हरायो । अनेक तत्वको खेलका कारण फागोलाई क्षेत्रीय सभापति हुन रोकिएको चाल पाएपछि कतिपय क्षेत्रिय प्रतिनिधि आक्रोशित बने भने कतिपय अधिवेशन स्थलमै रोएका थिए ।

पार्टीका संरक्षक, निडर, स्पष्टवक्ता, क्षेत्रमा काँग्रेसलाई चलायमान र दरिलो बनाउने सतिसाल झै खडा भएका खम्बाले पार्टी नेतृत्वबाट हात झिक्नु पर्ने अवस्था सिर्जना भएपछि कार्यकर्ता आक्रोशित हुनु स्वभाविकै थियो । पार्टीभन्दा पनि व्यक्ति प्रधान, स्वार्थी, सीमित दायरामा पार्टीलाई चलाउन खोज्ने तत्वले जब फागोलाई रोक्ने काम गरेको जब कार्यकर्ताले थाहा पाए तब उनिहरु अहिले फागोलाई जिल्ला सभापतिमा उठ्न आग्रह गरिरहेका छन् ।

लोकप्रियता र अंकगणितिय हिसाबले पनि बर्तमान जिल्ला सभापति डिकबहादुर लिम्वु भन्दा माथी रहेका फागोलाई जिल्ला सभापतिमा उम्मेद्वारी दर्ता गराएर पार्टी भित्रको गुटबन्दी र चलखेलको राजनितिलाई चिर्न कार्यकर्ताले माग गरिरहेका छन् ।

‘दुई कार्यकाल क्षेत्रीय समितिको सफल नेतृत्व गरेको व्यक्तिले माथिल्लो नेतृत्वमा जानु स्वाभाविक हो’ एक क्षेत्रीय प्रतिनिधिले भने, ‘पुनः क्षेत्रको नेतृत्व गर्छु भन्दा उहाँलाई रोक्ने काम भयो, अब उहाँ जस्तो डायनामिक लिडरले त्यतिकै बस्न मिल्दैन, जिल्ला सभापतिको उम्मेद्वार बन्नुपर्छ ।’ 

नेतृत्वमा जानबाट रोक्दै गर्दा अधिवेशन स्थलमै निस्किएका आँसुले पनि उहाँलाई त्यतिकै बस्न नदिने बताउँदै अर्का क्षेत्रीय प्रतिनिधि भन्छन्,‘ दुई कार्यकाल क्षेत्र हाँकिसकेको व्यक्ति अब स्वभाविक रुपमा जिल्ला नेतृत्वको दाबेदार हो, त्यसतर्फ उहाँले पाइला चाल्नु पर्छ ।’ कार्यकर्ताको चाहनाका विषयमा फागोले अहिले नै कुनै प्रतिक्रिया दिएका छैनन् ।

को हुन् फागो 

उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका क्षेत्रीय सभापति फागो नेपाली काँग्रेसको वडा सहसचिव हुँदै २०४९ सालदेखि राजनीतिमा होमिएका हुन् । तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हुँदै क्षेत्रीय सभापति भएका उनले राजनीति शास्त्रमा स्नातक (BA) र ग्रामीण विकासमा स्नातकोत्तर (MA) उपाधि हासिल गरेका छन् । 

दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उनले यस क्षेत्रमा सफल संगठन निर्माण गरेका छन् । सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुन् । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्य बोकेका फागोे विकासप्रेमी नेताको रुपमा परिचित छन् । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रसंसा हुने गरेको छ । उनले भन्ने गरेका छन्, “जनताको पैसा एक रुपैया खान्नँ, कसैलाई खान पनि दिन्नँ ।’  

उनि क्षेत्रीय सभापति हुदा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन अहोरात्र लागि पर्ने निस्वार्थी नेता हुन । उनको कार्यकालमा फागोले क्षेत्रभित्र रहेका ३७ वटै वडामा नेपाली काँग्रेसको जित निकाली ३४ सयभन्दा बढी क्रियाशील सदस्यको शिर उच्च राख्न सफल भएका थिए ।

मोरङ १ मा क्षेत्रीय सभापति हुँदा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय छन् । स्थानीय तहमा एमालेको किल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व काँग्रेसले जित हात पार्‍यो । फागोको पार्टीप्रतिको क्रियाशीलता, सक्षमता, सबलता र  नेतृत्वदायि भुमिका बाट प्रेरित भएर नै यो क्षेत्रमा उनको कार्यकालमा ४ हजार २ सय जनाभन्दा बढी काँग्रेस प्रवेश गरेका थिए ।