इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले एकै दिन ठुलो सङ्ख्यामा राजनीतिक नियुक्ति गरेका छन् । विश्वासको मत लिने समयलाई १२ दिनपछि सारेका मुख्यमन्त्री आचार्यले आइतबार  महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिवमा गुन्डा नाइके कृष्ण बस्नेत (पर्शुराम)लाई नियुक्त गरेको हो । बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वो, सदस्य सचिवमा बस्नेत र सदस्यहरूमा भेषराज कार्की, विप्लभ घोष, थलु राजभण्डारीलाई नियुक्त गरेको छ । उनीहरूसबै एमाले निकट हुन् ।

गत भदौ २५ गते बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वाेच्च अदालतबाट सफाइ पाएका थिए । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिएको प्रदेश १ सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले जानकारी दिए ।

बैठकले प्रदेश श्रम सल्लाहाकार समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा राजीव घिमिरे छन् । सदस्यहरूमा भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्यय, रञ्जु  सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबू कार्की, सुनिता घिमिरे, टीका प्रसाइँ, निलम साह सोनारलाई नियुक्त गरेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले जानकारी दिए ।

बैठकले प्रदेश पर्यटन बोर्डको सदस्य पनि नियुक्ति गरेको छ । नियमालीअनुसार ११ सदस्य कार्यसमिति हुनेछ । समितिको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहने छन् । ६ जना उद्योग पर्यटन क्षेत्रमा १० वर्षयता सक्रिय व्यक्ति रहनेछन् । बैठकले मनोनयन सिफारिस समितिको सिफारिसका आधारमा विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुखुम्बुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, सुनसरीकी प्रेरणा थापा र झापाकी ईन्दिरा श्रेष्ठलाई नियुक्त गरेको हो ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समयलाई १२ दिनपछि धकेलेकै दिन आचार्यले राजनीतिक नियुक्ति गरेका हुन् । राजनीतिक नियुक्ति गरेपछि प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन् ।