इटहरी /आम उपभोक्ता कालोबजारी, मुल्य बृद्धको मारमा परिरहेका छन् । तर चाडवाडमा मात्र बजार अनुगमनको नाटक गर्ने सरोकारवाला निकाय रमिते मात्र बनेको छ । बर्षभरी केही नगरी बसेका उपभोक्तावादी तथा सम्बद्ध निकायका अधिकारी अब चाड पर्व नजिकिएपछि बजार अनुगमनको रणनीति बनाउन थालेका छन् ।
आम उपभोक्ता कालोबजारी, मुल्य बृद्धको मारमा परिरहेका छन् । तर चाडवाडमा मात्र बजार अनुगमनको नाटक गर्ने सरोकारवाला निकाय रमिते मात्र बनेको छ । बर्षभरी केही नगरी बसेका उपभोक्तावादी तथा सम्बद्ध निकायका अधिकारी अब चाड पर्व नजिकिएपछि बजार अनुगमनको रणनीति बनाउन थालेका छन् चाडबाड लक्षित गरेर अनुगमन गर्ने सरकारी शैली पुरानो हो । देखावटी यो नाटक अति हुँदा पनि रोकिने संकेत भने छैन ।
यस्ता अनुगमनबाट न उपभोक्ताले राहत पाएका छन् नत कालोबजारी गर्नेहरुमाथि कारवाही नै । तर, फेरि यसपटक चाडवाड लक्षित अनुगमन इटहरी सहित देशभर सुरु भएको छ । दशैं, तिहार र छठ जस्ता ठूला पर्व सुरु हुन अघि देशभर एकसाथ अनुगमन सुरु गर्ने परम्परा नौलो होइन । तर, यस्ता अनुगमनबाट ठूलो व्यापारीले उन्मुक्ति पाउने साना व्यापारीले मात्र दुःख भोग्नु पर्ने नियति नै बनेको छ ।
उपभोक्ता अधिकारकर्मीहरु पनि सरकारी अनुगमनको यो शैलीबाट आजित भइसकेका छन् । कुनै प्रभाव उपभोक्तामा नपर्नु र कालोबजारी गर्ने व्यापारीहरुलाई नसिहत मात्र दिएर छाड्ने चलनले सरकारी कर्मचारीको नियत छर्लङ्ग बन्दै आएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ । चाडबाड सुरु हुन लाग्दा हुने यो मौसमी अनुगमन प्रभावकारी नहुँदा सरकारी निकाय र कर्मचारीहरुले शैली परिवर्तन गर्न आवश्यक भइसकेको छ ।
यतीबेला इटहरी उपमहानगरपालिकामा वजार अनुगमन तिव्र बनाइएको छ । तर उपभोक्ताले भने यो अनुगमनलाई र अनुगमन गर्ने सरकारी टोलीको देखाउने दाँत मात्र भनेका छन् । उपभोक्ता अधिकारीकर्मी त चाड पर्व नजिकिएसँगै अनुगमनलाई नाटक भन्छन् । व्यापारीले चाडपर्वमा मात्र हैन अरू बेलामा पनि महँगोमा सामान बेच्छन् । जसले गर्दा उपभोक्ता ठगिन्छन् । त्यसैले उनीहरु चाडपर्व नजिँकिँदा मात्र हैन सधैंभरी नियमित रुपमा अनुगमन गर्नु पर्ने बताउँछन् । स्थानीय तह र वडा तहमा पनि कुनै पनि सामान किन्दा ठगिएको भए उजुरी गर्न सक्ने व्यवस्था छ । तर आफु ठगिएको भनेर क्रेताले पनि उजुरी गर्ने चलन नागरिकहरुमा बनिसकेको छैन । त्यसैले सधैंभरी व्यापारीको मनोमानी हुने गरेको छ । यसलाई रोक्न सरकारले कडाइ गर्नुका साथै उपभोक्ता आफैं सचेत हुन जरुरी छ ।
किन हुन्छ मूल्यवृद्धि ?
चाडपर्वमा हरेकजसो सामानको आवश्यकता पर्छ । नागरिक पैसा नभए ऋण गरेरै भएपनि सरसामान जुटाउन लाग्छन् । जसले गर्दा बजार अघिपछि भन्दा वढी नै भिडभाड हुन्छ । यहि भिडभाडको मौका छोपी व्यापारीहरुको कमाउ धन्दा शुरु हुन्छ । यहि बेलामा गुणस्तरहिन सामान बेच्नेहरुको होडबाजी चल्छ भने वढी नै मूल्य तिरेरै भएपनि सामान किन्न उपभोक्ता तयार रहन्छन् । दैनिक उपभोग्य सामानको माग पनि अरुबेला भन्दा वढी हुन्छ । यहि कारण विशेषगरि चाडपर्वहरुमा सामानको मूल्यवृद्धि हुने रोग पुरानै हो । जसको स्थायी उपचार कहिल्यै हुने अवस्था देखिंदैन ।
चाडपर्व त मूल्य बढाउने बाहाना मात्रै हुन् । एकपटक बढिसकेपछि सामानको मूल्य घट्न मुस्किल छ । व्यापारीहरु यहि मौकामा आफ्ना स्टक बसेका पुराना सामानहरु छुट र अफर भन्दै नागरिकलाई जबर्जस्ती भिडाउन खोज्छन् । जसले गर्दा बजारमा सामानको मूल्य बढ्छ ।
छुट र अफर सधैं किन हुँदैन ?
सरकारले नै चाडपर्वमा मात्र छुट दिने र अरुबेला नागरिकको ढाड सेक्ने निती अबलम्बन गरेको छ । वर्षको साँढे १० महिना नागरिकलाई महंगीले ढाड सेक्ने सरकार चाडपर्वको बाहाना बनाएर डेढ महिने सुपथ मूल्य पसलको नाटक गर्छ । यसवर्ष पनि देशका ७३ स्थानमा सुपथ मूल्य पसलहरु संचालन भएका छन् । ७७ जिल्लामा ७३ वटा पसल ? यो भन्दा वढी हाँस्यास्पद कुरा अरु के हुन सक्छ ? यसरी सरकारले त नागरिकका आँखामा छारो हाल्ने काम गर्दै आएको छ भने नाफामुखी व्यापारीहरुको चाला के हुन सक्ला ?
के के मा बढेको छ मूल्य ?
यतिबेला कुनैपनि सामान छैन, जसको बजारमा मूल्य नबढेको होस् । सुनदेखि नुनसम्म बढेकै छ । अझै तरकारीको मूल्य त ३ सय प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । कपडाजन्य वस्तुको भाउ पनि छोइनसक्नु छ । खसीबोकाको मूल्य पनि उस्तै बढेको छ । चाडपर्व आउँछ , मानौं सामानको मूल्य बढाउनकै लागि आउँछ जस्तै अनुभव हुन थालेको छ । चाडपर्वमा यो चाहिं सामान सस्तोमा पाइयो भन्ने कोहि नागरिक छैनन् । सरकारको अनुगमन नाम मात्रैको जस्तै पनि छैन । अनुगमन टोली व्यापारीहरुसँग सेटिङ्ग मिलाउँछन् , आफ्नो दुनो सोझ्याउँछन् अनि खल्ती भर्दै बाटो लाग्छन् । नागरिकले कसको विश्वास गर्ने ?




















