इटहरी । माता दुर्गा भगवतीको पूजा आराधना गरेर मनाइने नेपालीहरुको महान पर्व बडादसैँ आज (बिहीबार)बाट सुरु भएको छ । 

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि बडादसैँ सुरु हुन्छ । हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधाम एवम् हर्षोल्लाससाथ बडादसैँ मनाउने गरेका छन् । पहिलो दिन विधिपूर्वक घरघरमा दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिन्छ । 

२०७८ सालको घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाकै दिनदेखि बडादसैँको नवरात्र सुरु हुन्छ । दुर्गा देवीका तीनवटा रूप महाकाली, सरस्वती र महालक्ष्मीको नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिन्छ । 

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा सरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा लिइन्छ । आजैदेखि घरघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। घरघरमा जमरा राखेर दसैँको सरुवात गरिन्छ । 

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । 

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि भने नभएको बताइन्छ । तर देशका विभिन्न भागमा परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ । मकै लगायतका अन्नको जमरा पनि राख्ने गरिन्छ । कतिपयले मकै, जौ लगायतका अन्नलाई मिसाएर पनि जमरा राख्छन् । 

आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ । 

असत्यमाथि सत्यको विजय र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा यो चाड मनाइँदै आएको छ । हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि महालक्ष्मी, महासरस्वती र नवदुर्गाको पूूजाअर्चनासहित जमरा राखेर घटस्थापना गरिँदै छ । प्राय : सबै राजगुठीअन्तर्गतका शक्तिपीठमा घटस्थापना गरेर जमरा राख्ने र टीकाका दिन सर्वसाधारणसमेतलाई टीका लगाइदिने व्यवस्था गरिन्छ ।  

भुटनदेवी हेटौँडा, रणउज्जेश्वरी पाल्पा, पूर्णचण्डी जावलाखेल, नवदुर्गा र ब्रह्मायणी भक्तपुर, काठमाडौंको मैतीदेवी, पशुपतिको झङ्केश्वरी, गुह्येश्वररी लगायतका शक्तिपीठमा पनि जमरा राखिँदै छ । घटस्थापनामा समस्त शक्तिपीठमा सरसफाई गरिन्छ ।