मोरङ । मोरङको उर्लाबारी-५ स्कुल डाडामा रहेको अरनिको अस्पतालले मुटु सम्वधी रोगको उपचार गर्ने भएको छ । 

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्दै मुटु सम्वधी समस्याको परिक्षण गर्न यस अघि पुर्वी उत्तर मोरङका मानिसहरुले विराटनगर, धरान धाउनु पर्ने व्याध्यात्मक अवस्थाको अन्त्य गरेको जनाएको छ ।

विगत आठ वर्षदेखी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले असोज १ गतेदेखि मुटुको समस्या पत्ता लगाउने इको कार्डियोग्राफी सेवा सुरु गरेको हो ।

अस्पतालका एमवीवीएस, एमडी डा. सम्पन्न बुढाथोकीले फागोको मुटुको जाँच गर्नुभयो । डा. बुढाथोकीले हिजैबाट अरनिको अस्पतालमा सेवा सुरु गर्नुभएको हो । यसअघि उहाँ नोबेल अस्पताल विराटनगरमा कार्यरत हुनुहुन्थ्यो 

इको कार्डियोग्राफीबाट मुटुको रोग पत्ता लगाउन सहयोग पुग्ने बताउँदै डा. बुढाथोकीले यो प्रविधिबाट मुटुको भल्भको अवस्था पत्ता लाग्ने, रगत पम्पको परीक्षण गरिने, मुटु वरिपरि पानी जमेको छ छैन भने जाँच गरिने जानकारी दिनुभयो ।

सो अवसरमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको मुटुको जाँच गरी सेवा सुरुवात गरिएको हो । 

नगर प्रमुख फागोले स्थानीय स्तरमा सञ्चालित अस्पतालमा सेवा सुविधा थपिनु खुसीको कुरा भएको बताउनुभयो । मुटुको जाँच गर्न यसअघि विराटनगर, धरान पुग्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै उहाँले पूर्वोत्तर मोरङ र यस आसपासका बिरामीका लागि यो सेवाले सहजता भएको बताउनुभयो ।

अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले समयानुकूल अस्पतालका सेवा विस्तार गर्दै लगिएको बताउनुभयो । डेढ वर्षदेखि स्वास्थ्य बिमा ल्याएर सहुलियत उपचार गरिरहेको बताउँदै उहाँले केही दिनभित्रमै इन्डोस्कोपी सेवा पनि सुरु गरिने बताउनुभयो । 

यस्तै, छ महिनासम्ममा आइसीयु र एनआइसीयु सेवा सुरु गरिने अध्यक्ष लिम्बूले बताए । इको कार्डियोग्राफी सेवा मोरङमा विराटनगर बाहिर पहिलो पटक अरनिको अस्पतालमा सुरु गरिएको उहाँले बताउनुभयो ।

यस्तै अस्पतालका सञ्चालक समिति सदस्य आइन्वा पोमूले बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै सेवाहरु थप गर्न आफूहरु तयार रहेको बताउनुभयो यस्तै अस्पतालले व्यावसायिकता मात्रै नभएर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको छ । अस्पतालको सेवा क्षेत्रभित्रका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, गरिब विपन्न बिरामीलाई उपचार छुटलगायतका कार्य गर्दै आएको छ ।