बिराटनगर / संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको हो । यही भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या भएको थियो ।

पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले लोकबहादुर वैदेशिक रोजगारीमा गएको र असफल भई फर्केको पाइएको जानकारी दिएका छन् । उनले भने, ‘यो योजनागत भन्दा पनि आवेशमा आएर गराएको देखिएको छ । मानिसक रूपमा समेत विक्षिप्त भएका लोकबहादुले आफूलाई अवहेलना भएको भन्ने मानसकिताले हत्या गरेको पाइएको छ ।’

उनले हत्या गर्दा प्रयोग गरेको कपडा र प्रयोग गरेको वस्तु फरेन्सिक जाँचको लागि पठाइएको डीआइजी बिसीले जानकारी दिए । डीआईजी बिसीले भने, ‘अभियुक्तले एउटै चिर्पट प्रयोग गरेको रहेछ । त्यसलाई अगेनोमा ल्याएर डढाएको रहेछ । एउटै चिर्पटले बारम्बार टाउकोमा हान्दा एकै प्रकृतिको चोटबाट सबैको मृत्यु भएको अनुसन्धानबाट देखिएको छ ।’ प्रहरीको विभिन्न तहबाट खटिएको टोलीकै कारण हत्यारासम्म पुग्न सफल भएको बिसीले बताए ।

प्रहरीले शुक्रबार नै छिमेकी तथ नातामा भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो । आफूमाथि तेजबहादुरले बारम्बार गरेको अपमानको बदला लिन पहिले उनको हत्या गरेको र पछि परिवारका सदस्यले समेत देखेको हुनाले सबैलाई पालैपालो हत्या गरेको कार्कीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अरूको हत्या गरेको बयान उनले दिएका छन् ।

मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

घटनामा परिवारका सात जनामध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन् । अनुसन्धान गर्ने क्रममा आवश्यक प्रमाणहरू जुटाउन प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो । आरोपित कार्कीले नातामा काका पर्ने तेजबहादुर घरबाट निस्किएको देखेपछि आक्रमण गर्ने योजना बनाएको र चाङबाट एउटा चिर्पट निकालेर खोल्सीमा पुगेपछि आक्रमण गरेको बताएका छन् ।

आक्रमणपछि तेजबहादुरले गुहारगुहार भन्दै चिच्याएको सुनेर श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएको र उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हानेका थिए । पछि दुई छोराछोरीलाई पनि लोकबहादुरले आक्रमण गरेको बताइएको छ । काकालाई मात्र मार्ने लक्ष्य भए पनि अरूले देखेकोले सबैलाई सिध्याई दिएको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् ।


लोकबहादुरसम्म कसरी पुग्यो प्रहरी ?


गत सोमबार बिहानै संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको खबर सार्वजनिक भयो । यसअघि २ वर्ष पहिले पाँचथरमा पनि यस्तै प्रकारको साुूहिक पारिवारिक हत्या भएको थियो । खबर लगत्तै प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार उनीहरुले पहिले दिनदेखि नै शंकास्पदहरुमाथि निगरानी राखेका थिए । हत्यामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशंका थियो ।

प्रहरीले सुरुमै ‘मोबाइल ट्रयाक’ राखेको स्रोत बताउँछ । मोबाइलकै आधारमा हत्या बाहिरका व्यक्तिबाट नभइ गाउँकै व्यक्तिबाट भएको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको थियो । प्रहरीले सुरुमा आर्थिक कारणले हत्या भएको हो कि भन्ने आशंका पनि गरेको थियो । तर हत्या गरिएका परिवारको सुन र पैसा सबै घरमै भेटियो । यसले प्रहरीलाई आर्थिक पाटोबाट हत्या नभएको र अरु कुनै कारणले हत्या भएको हुन सक्ने कारण खोज्न प्रेरित ग¥यो ।

प्रहरीको नजरमा लोकबहादुर कार्की सुरुदेखि नै थिए । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘सबैतिर शव थिए मानिसहरुमा त्रास थियो । तर लोकबहादुरले त्यहाँ भएको लाश उसको होला भन्दै भनिरहेका थिए । त्यो नै हाम्रा लागि अनुसन्धानको क्लु बन्यो ।’

यति मात्रै होइन उनले पत्रकार र युटुबरलाई हत्यामा संलग्नहरुमाथि कारबाहीको माग समेत गरिरहे । प्रहरीले उनले युटुवरलाई दिएको अन्तर्वार्ता पनि केलाएको थियो । एक प्रहरी अधिकृतले भने, ‘उनले पत्रकारसँग गरेको भिडियो कुराकानीमा पनि उनको हाउभाउ सहज थिएन । हामीले त्यो पनि सुक्ष्म ढङ्गले हेरेका थियौं ।’

उनी कार्की परिवारका छिमेकी भएकाले उनले हत्यासँग जोडिएका प्रमाणहरु नष्ट गर्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् । लोकबहादुरसँग प्रहरीले सोधपुछ गरिरहेको थियो । तर उनको बोली फेरिँदै गयो । प्रहरीको शंका बलियो हुँदै गयो । प्रहरीको निरन्तर केरकारपछि शनिबार लोकबहादुरले आफैले हत्या गरेको स्वीकार गरे ।