मोरङ । मोरङको उर्लाबारीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता ६४ जना संक्रमितको मृत्यु भएको छ । 

नगरपालिका स्वास्थ्य शाखाका अनुसार वैशाखदेखि हालसम्म ४३ पुरुष र २१ महिलाको मृत्यु भएको हो ।

दोस्रो लहरको संक्रमणका कारण वैशाखमा ८ जना, जेठमा २२ जना, असारमा १० जना, साउनमा २० जना र भदौमा ४ जनाको मृत्यु भएको स्वास्थ्य शाखा सहसंयोजक सुरेश खड्काले जानकारी दिए । 

उनका अनुसार वडा नं. ३ र ७ का ११/११ जना, वडा नं. २ का ९ जना, वडा नं. ५, ६ र ८ का ८/७ जना, वडा नं. ४ का ७ जना तथा वडा नं. १ र ९ का २/२ जनाको मृत्यु भएको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले हर प्रयास गरेपनि संक्रमण र मृत्युमा कमी आएको छैन । नगरप्रमुख खड्ग फागो संक्रमणबाट बच्न व्यक्ति स्वयम् सचेत हुनुपर्ने बताउँछन् । 

संक्रमण रोकथामका लागि जिल्ला प्रशासन र नगरपालिकाले लकडाउन गरेपनि लापरबाहीका कारण संक्रमण बढेको छ । 

स्वास्थ्य मापदण्डको पालना गर्ने, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गरे संक्रमणबाट जोगिन सकिने मेयर फागो बताउँछन् ।