इटहरी । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर ह्वात्तै बढेको प्रदेश १ मा मृत्युदर पनि बढेको छ । दुई दिनभित्रै प्रदेशमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र प्रदेशमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये सुनसरीमा सबैभन्दा धेरै चार जना छन् भने मोरङमा ३, उदयपुरमा २, झापा, संखुवासभा र इलाममा १–१ जना गरी १३ जनाको एकै दिन मृत्यु भएको हो । अघिल्लो दिन प्रदेशमा १४ जनाको मृत्यु भएको थियो ।

बिहीबार १३ जना थपिएसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १९ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुनसरीमा ४ सय ६५ जना छन् । त्यस्तै मोरङमा ४ सय ४२, झापामा ४ सय १५ जनाको मृत्यु भइसकेको छ । इलाममा ६०, उदयपुरमा ४८, पाँचथरमा ३७ , धनकुटामा ३५, तेह्रथुममा १९, संखुवासभामा १८, ओखलढुंगामा १०, ताप्लेजुङमा १० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै भोजपुरमा ९, सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ । हालसम्म सामाजिक विकास मन्त्रालयको तथ्यांकमा कोरोनाबाट खोटाङमा कसैको पनि कोरोनाले मृत्यु नभएको उल्लेख छ । प्रदेश बाहिरका १ सय ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

केही सातायता प्रदेशमा संक्रमित थपिने क्रम पनि जारी छ । पछिल्लो २४ घण्टामा ९ सय ६९ जना संक्रमित थपिएको प्रदेशमा अघिल्लो दिन बुधबार ८ सय ८५ जना संक्रमित भएका थिए । मंगलबार १ हजार ७१ जनामा संक्रमण पु्ष्टि भएको थियो ।

बिहीबार संक्रमण पुष्टि भएमध्ये सबैभन्दा बढी झापामा १ सय ९१ जना छन् । मोरङमा १ सय ३५, सुनसरीमा १ सय १६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, ते¥हथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।

पहिलो चरणयता प्रदेश १ मा हालसम्म ९० हजार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१ हजार ४ सय ९५ जना कोरोनामुक्त भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७१ रहेको प्रदेश सरकारले जनाएको छ ।