काठमाडौं । सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेबाट लगाइने जनाएको छ । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने बारे सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज लगाएकाले दोस्रो डोज असार २२ गतेबाट लगाउन आग्रह गरेको छ । 

“कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जेठ २५ गतेदेखि सञ्चालनमा आएको खोप अभियान अन्तर्गत भेरोसेल खोपको पहिलो मात्रा लगाउनु हुनेले दोस्रो मात्राको खोप असार २२ गतेबाट लगाउन हुन अनुरोध छ,” मन्त्रालयले भनेको छ, “आफ्नो खोपकार्डसहित नजिकको खोप केन्द्रमा गएर दोस्रो मात्रा खोप लगाउनु होला ।” 

खोप खरिदमा आवश्यक पर्याप्त पहल गर्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना हुँदै आएको छ । खोप लगाएपछि संक्रमणको सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि खोप लगाएका व्यक्तिलाई धेरै गाह्रो नहुने विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । त्यसैले खोपको तत्काल व्यवस्था गर्न नागरिकले सरकारसँग माग गर्दै आएका छन् । 

तर, सत्ताकेन्द्रित सत्तारुढ दल र विभागीय मन्त्रालयमा पटक–पटकको मन्त्री परिवर्तनले खोप खरिदमा अपेक्षित काम हुन सकेको छैन । कोरोना संक्रमण सुरु भएपछि स्वास्थ्य मन्त्रालयमा चारजना मन्त्री परिवर्तन भइसकेका छन् ।