इटहरी, असार ९ । यतिबेला बर्खाको समयमा इटहरी वडा नं. ३ का ५९ वर्षे मलिक डुम्जन रातिको बेला पानी पर्दा पुरै जागै बस्छन् । पानी परेको बेला राति अचानक बाढी आए समस्या हुने हुँदा आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले मलिक जागै बस्ने गरेका हुन् । 

बर्खाको बेला नदीहरुमा पानी बढ्नु स्वभाविक भएपनि सुनसरी–मोरङको सीमावर्ती नदी बुढी खोलामा आएको बाढी मानववस्तीमा प्रवेश गर्दा जहिल्यै खतरा हुन्छ । जसले गर्दा मलिक रातभर पालो गरेर खोला हेर्नमा खटिन्छन् । ‘रातभर निद्रा लाग्दैन, खोलामा तटबन्धको काम भए त त्रास कम हुने थियो,’ उनले भने ।  घर नजिकै रहेको बुढीखोलातिर नियाल्दै गरेको अवस्थामा भेटिएका उनले असार र साउन दुई महिना  रातभर जागा बस्ने गरेको पीडा सुनाए । 

इटहरी वडा नं. ४ की मञ्जु साफीले खोलाले गर्दा  असार र साउन पुरै चिन्तामा बस्नु परेको बताइन् । ‘विशेषगरी रातको समयमा पहाडी क्षेत्रमा पानी पर्ने भएकाले बुढीखोलामा बाढी आउने टुंगो हुँदैन, जसले गर्दा  त्रासमा बस्न बाध्य छौँ,’ उनले भनिन् । 

इटहरीमा बाढी रोकथामका निम्ति प्रभावकारी काम नहुँदा वर्षेनी समस्या झेल्नुपरेको स्थानीय विनोद बिक सुनाउँछन् । ‘खोला कटान भन्दा पनि डुबानको डर हुन्छ, घरमा साना बच्चा छन्,’ बिकले भने । 

पछिल्लो समय २०७४ सालमा आएको ठूलो बाढीले इटहरी वडा नं. ४ गैरीगाउँमा एकै घरका तीनसहित नौं जनाको मृत्यु भएको थियो । विकलाईं त्यो घटनाले सम्झदा आङ् सिरिङ् भएर आउँछ ।  

इटहरीका २० वटा वडामा १ लाख ५० हजारभन्दा बढी जनसंख्या छ। बाढीबाट प्रभावित इटहरीका विशेष गरी वडा नं. ३, ४, ९, १०, ११ र १२ छन् । उपमहानगरको वातावरण तथा जनसंख्या शाखा अधिकृत पुष्पनारायण चौधरीका अनुसारका छवटा वडाका करिब २ हजार घर परिवारलाई बाढीको उच्च जोखिमको सम्भावनामा रहेको छन्  । 

रेटक्रस सुनसरीको तथ्याङ्क अनुसार भने इटहरी उपमहानगरपालिकामा सात हजार ४१७ घरघुरी बाढीको जोखिममा छन् । रेटक्रसको तथ्याङ्कले भने वडा नं. २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३, १५, १९ र २० बढी जोखिममा रहेको उल्लेख गरेको छ ।

इटहरीको भुगोलमा डुवान आकाशबाट परेको पानीले मात्र बढ्दैन् । धरान वडा नं. ६ को देखि उत्तर कन्या पोखरी र हात्ती सुँढे भीरको चट्टानबाट प्रारम्भ हुने मुल दक्षिणमा शेरा खोलाको प्रस्थान बिन्दु हो । यहीबाट हरेक साल पाँचकन्या गाउँको दक्षिणतिर चारकोशे जङ्लतिर आउने बाढी शेरा खोला हुँदै इटहरी आईपुग्छ । शेराकै पानी ओभरफ्लो भएर टेङग्रामा मिसिन्छ, त्यसको पानी पनि मानववस्तीमा प्रवेश गर्छ । 


बाढीले अहिलेसम्म पु¥याएको क्षती

इटहरीमा बाढीले पटक पटक क्षती पु¥याउँदै आएको छ।  २०७४  साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो । नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौं जनाको मृत्यु भएको थियो । 

२०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो । त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो । यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो । त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो ।विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन् । तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरियो । 

इटहरीले हरेक बर्ष आउने बाढीबाट डुवान भोग्नु पर्ने मुख्य कारक बुझ्न जरुरी छ । २०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो । यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे । जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए । इटहरीको भुगोल भएर बग्ने खोलाहरु पनि गहिरा र फराकिला थिए । जति पानी परे पनि वा बाढी थपिए पनि ती सवै तिनै खोला खोल्सी र पैनीबाट सहज  रुपमा दक्षिणतिर बग्दै जान्थे । अहिलेको बीच बजार भएर बग्दै गरेको टेङ्ग्रा खोलामाथि निर्माण भएको पक्की पुलमुनि कम्तिमा १२ फुट तल खोला बग्ने ठाउँ थियो । 

यतिबेला भने खेतीयोग्य जमीन मासिएर जताततै प्लर्टिङ् भएर अनियन्त्रित घर निर्माण हुँदा छन् । पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटा लगायतका स्थानबाट बसाई सर्नेले घर निर्माण गरेका छन् । नयाँ प्लटिङ् गरेको स्थानमा घर निर्माण गरेसँगै सवैतिर सडक विस्तार गरिएको छ । तर, सडक विस्तार गर्दा व्यवस्थित ढल निकास छैन् । 

 इटहरी डुबानमा पर्नुमा खोला अतिक्रमण गर्दै क्रक्रिंटका संरचना तयार गरिनु र  समय–समयमा खोला सफा नगरिनु अर्को कारक रहेको छ। व्यवस्थित प्लानिङ् नभएको स्थानमा शेरा र टेङ्ग्राको पानी वस्तीमा पस्दा बढी क्षती हुने गर्छ । 

यहाँ डुबानमा पर्नुमा स्थानीय तहले मुख्य आयस्रोतका रूपमा नदीबाट निर्माण सामग्री उत्खनन गर्न ठेक्का दिएपछि बुढी खोला नदीको तटबन्धन भत्किएर खतरा भएको इटहरी वडा नं. ४ कै मञ्जु साफीले बताइन् । उनका अनुसार झन्डै १४ बर्ष अगाडि त खोला ठूलो थियो, अहिले त स्थानीय मानिसहरुले पनि खोला मिचेका कारण सानो भएकाले गाउँमा बाढी पस्ने गरेको छ ।  दिनदिनै ढुंगा, गिट्टी र  बालुवा खोलाबाट निकाल्न गरिएको छ। 


डुबान रोक्न गरिएका प्रयास 

इटहरीमा खोला कटान तथा डुबान नियन्त्रण सम्वन्धि कुनै पनि काम नभएको भने होइन । वर्षेनी मोटो रकम खर्च हुने गरेको छ । 

२०७४ सालको घटना पुनः नदोहरियोस् भनेर इटहरी उपमहानगरले २०७५ साल पुस २८ गतेबाट राष्ट्रपति चुरे संरक्षणबाट आएको झन्डै ६० लाख र अन्य स्रोत जुटाएर तारजाली लगाएर नदी नियन्त्रण गर्ने प्रयास ग¥यो । तर, यतिबेला तटबन्ध भत्किएको छ । इटहरी वडा नं. ४ का टीकाप्रसाद पराजुलीको अध्यक्षमा एक समितिबाट तटबन्धन निर्माण भएको थियो । कामको सुरुवातमै चित्तबुझ्दो काम नभएको भन्दै निर्माण गरिसकिएको जाली वाल पुनः निर्माण गरिएको थियो । निर्माण समितिले जग नै नखनी माथि माथि जाली लगाउँदा यस्तो समस्या आएको स्थानीयको बुझाई छ । 

Ithari-badhu

इटहरीमा चालू आर्थिक वर्ष २०७७/७८ मै एक करोड ५० लाख रुपैँया नदी नियन्त्रणका लागि छुट्याइएको छ । त्यस्तै, खोला तथा नहर सरसफाइका लागि २० लाख रुपैँया तयार पारी काम सुरु भएको छ । 

इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बाढी तथा डुबान व्यवस्थित गर्न नगर स्तरीय विपद् व्यवस्थापन समिति बनाएर काम गरि राखेको बताए । ‘बाढी तथा डुबानबाट व्यवस्थित गर्नका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति बनाएका छौँ, इटहरीका २० वटै वडामा वडा स्तरीय समिति निमार्ण गरेका छौँ,’ वातावरण शाखा प्रमुख चौधरीले भने ।  

इटहरी वडा नं. ४ का राजकुमार भुजेलले सरकारी निकाय बाढी नियन्त्रणका लागि गम्भीर नभएको जिकिर गर्छन् । उनी भन्छन्, ‘वर्षेनी बाढीको समस्या दोहोरिदाँ त्रासमा बस्न बाध्य छौँ, सरकारले जहिल्यै पनि घटना भइसकेपछि मात्रै चासो देखाएजस्तो गर्छ ।’ 

अहिलेसम्म सरकारी स्तरबाट डुबान रोक्न गरिएका प्रयास र पहलबारे स्थानीय सन्तुष्ट भएको पाइदैन् ।   इटहरीका पूराना बासीन्दा श्याम पोखरेल भन्छन, ‘इटहरीले लामो समयबाट डुवानका क्षेत्रमा गरेको प्रयास बालुवामा पानि हाले जस्तै भएको छ ।’ काम गरेको धेरै सुनिएपनि काम भने प्रभावकारी नबनेकाले गर्दा इटहरी डुवानबाट नरोकिएको उनले बताए । ‘इटहरीलाई डुबानबाट रोक्न तीनै तहका सरकारको समन्वयमा दीर्घकालिन नदी नियन्त्रण तथा रोमथामको योजना ल्याउनुपर्छ,’ उनले भने । 

parash