इटहरी । निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ (The Rise of Saamrajya) मा अभिनेत्री अन्जना बराइली पनि औपचारिक रूपमा अनुबन्धित भएकी छन्। अन्जनाको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप समृद्ध बनेको निर्माण पक्षले जनाएको छ।
डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा यसअघि नै अभिनेता दयाहाङ राई, सौगात मल्ल, नाजिर हुसेन र विजय बराल अनुबन्धित भइसकेका छन्। अब अन्जना बराइली पनि कलाकार टोलीमा जोडिएपछि चलचित्रप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ।
अन्जना नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन्। फरक चरित्र र अभिनयमार्फत दर्शकमाझ आफ्नो पहिचान बनाउँदै आएकी उनको ‘द राइज अफ साम्राज्य’मा कस्तो भूमिका रहनेछ भन्ने विषयमा भने निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

निर्माण कम्पनीले चलचित्रका चर्चित कलाकारहरूलाई क्रमशः अनुबन्धित गर्दै उनीहरूलाई सार्वजनिक गरिरहेको छ। यसअघि नाजिर हुसेनलाई विशेष पोस्टरमार्फत चलचित्रमा स्वागत गरिएको थियो भने विजय बराल पनि औपचारिक रूपमा चलचित्रको कलाकार टोलीमा जोडिएका थिए।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन्। सह–निर्मातामा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डेय छन्। चलचित्रको डीओपी मन कृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ तथा मिडिया को–अर्डिनेटर सुरक्षा भट्टराई रहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार, कथावस्तु, छायांकन तथा प्रदर्शन मितिसहितका थप जानकारी क्रमशः सार्वजनिक गरिँदै जानेछ।
दयाहाङ राई, सौगात मल्ल, नाजिर हुसेन, विजय बराल र अन्जना बराइलीजस्ता चर्चित कलाकारको सहभागिताले ‘द राइज अफ साम्राज्य’लाई नेपाली दर्शकमाझ प्रतीक्षित चलचित्रका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।




















