इटहरी । दर्शकको उत्साहजनक साथ पाइरहेको नेपाली चलचित्र ‘गौँथली’ले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ। निर्माण टोलीले ६० वर्षभन्दा माथिका नागरिकले चलचित्र निःशुल्क हेर्न पाउने गरी विशेष योजना सार्वजनिक गरेको हो।

निर्माण पक्षका अनुसार यो सुविधा भदौ १० गतेदेखि भदौ २१ गतेसम्म लागू हुनेछ। अफरअन्तर्गत योग्य ज्येष्ठ नागरिकले सुरुमा ‘खल्ती’ एपमार्फत चलचित्रको टिकट खरिद गर्नुपर्नेछ। आवश्यक प्रक्रिया पूरा गरेपछि टिकटमा खर्च भएको सम्पूर्ण रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा फिर्ता गरिनेछ।

अफरको लाभ लिन ज्येष्ठ नागरिकको उमेर खुल्ने नागरिकताको प्रमाण र तस्बिर, खल्तीमार्फत टिकट खरिद गरेको स्क्रिनसट तथा ‘गौँथली’को पोस्टर वा तस्बिर पृष्ठभूमिमा देखिने गरी खिचिएको प्रयोगकर्ताको फोटो बुझाउनुपर्नेछ।

चलचित्रका निर्देशक डा. कपिल रिजालका अनुसार आवश्यक प्रमाणहरू पेस गरेपछि खरिद गरिएको टिकटको कुल रकम बराबरको पैसा सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा जम्मा गरिनेछ।

अभियानलाई कार्यान्वयन गर्न निर्माण पक्षले खल्ती एपमा सुरुवाती चरणमै एक लाख रुपैयाँ अग्रिम रकम जम्मा गरेको जनाएको छ। सोही रकमबाट योग्य दर्शकको टिकट खर्च फिर्ता गरिनेछ। अग्रिम रकम सकिएमा वा तोकिएको अवधि पूरा भएमा अफर स्वतः समाप्त हुने निर्माण पक्षले स्पष्ट पारेको छ।

Screenshot 2026-08-25 at 7.33.36 PM

शिक्षाको महत्व र श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको मुख्य आधार बनाइएको ‘गौँथली’ले व्यावसायिक रूपमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै नेपाली चलचित्र इतिहासकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्मको स्थान बनाएको छ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई कपिल रिजाल र सुमन गिरीले संयुक्त रूपमा निर्माण गरेका हुन्। ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ल्याइएको यो अफरले ‘गौँथली’लाई थप दर्शकमाझ पुर्‍याउने अपेक्षा निर्माण पक्षले गरेको छ।