इटहरी । तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको चहलपहल बढेको छ। यही माहोलमा चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। गीतले तीजमा बढ्दै गएको तडकभडक, देखासिकी र अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।

गीत सार्वजनिक भएसँगै चलचित्रकी निर्मात्री तथा अभिनेत्री रेखा थापाले लामो समयपछि निर्देशनमा फर्किएको घोषणा पनि गरिएको छ। उनी करिब आठ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेकी हुन्।

सुष्मा सिग्देलको शब्द रहेको ‘नक्कल पारी’मा प्रशान्त शिवाकोटीको संगीत छ। गीतमा चर्चित गायिका शान्तीश्री परियार र शिवाकोटीको युगल स्वर सुन्न सकिन्छ। अरूले लगाएको लुगा, गहना र जीवनशैलीको नक्कल गर्न खोज्दा परिवारमा पर्ने आर्थिक दबाबलाई गीतले रमाइलो तथा नृत्यप्रधान शैलीमा प्रस्तुत गरेको छ। 

Screenshot 2026-08-25 at 7.45.15 PM

गीतको भिडियोमा पनि कलाकारहरूको आकर्षक प्रस्तुति देख्न सकिन्छ। कोरियोग्राफर गम्भीर विष्टको निर्देशनमा तयार भिडियोमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहसँगै अभिनेता दिल श्रेष्ठले नृत्य गरेका छन्। दर्जनौँ कोरस कलाकार समेटिएको भिडियोमा भव्य सेटअप र निर्माण पक्षको मेहनत देखिन्छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रले प्रेमकथामार्फत सामाजिक परिवेश र मानवीय भावनालाई प्रस्तुत गर्ने जनाइएको छ। चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन्।

Screenshot 2026-08-25 at 7.46.05 PM


फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगै दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। प्रमुख सहायक निर्देशक अनिरुद्ध आत्रेय रहेका छन्।

रेखा थापाको लामो अन्तरालपछिको निर्देशन, मल्टिस्टारर कलाकारको उपस्थिति र सामाजिक विषयवस्तुका कारण चलचित्रप्रति दर्शकको चासो बढेको छ। चलचित्र भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। यसको वितरणको जिम्मेवारी रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।