इटहरी । कमेडियन सुमन कोइराला ‘दले दाई’को उपनामबाट चर्चित छन्। उनैको अभिनय यात्रा सुरु भएको चलचित्र  ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। समीरको निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायांकन ३५ दिनमा पूरा गरिएको हो।

सोमबार कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै चलचित्रको छायांकन औपचारिक रूपमा सकिएको निर्माण टिमले जनाएको छ।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्रलाई पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथावस्तुमा आधारित भनिएको छ। चलचित्रले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध र सामाजिक विषयलाई समेत प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।

IMG_9149


चलचित्रमा सुमन कोइरालासँगै वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रद्युम्न बोगटी हुन्। भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा रहेका छन्।

चलचित्रको छायांकन विशाल कक्षपतिले गरेका हुन् भने संगीतमा अभिषेक कार्की छन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद तयार गरेका छन्। चलचित्रमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।

छायांकन सकिएसँगै अब चलचित्रको पोस्ट प्रोडक्सनको काम अघि बढ्ने भएको छ। कमेडी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुमन कोइरालाको ठूलो पर्दामा डेब्यु भएकाले ‘तिरिमिरी झ्याइँ’लाई दर्शकमाझ चासोका साथ हेरिएको छ।