इटहरी  । अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईको मुख्य भूमिका रहने नेपाली चलचित्र ‘शुभ विवाह’को छायांकन सुरु भएको छ। पर्यटकीय नगरी पोखरामा क्यामेरा पूजा गर्दै आइतबारदेखि चलचित्रको छायांकन थालिएको हो।

निर्देशक सुदर्शन थापाका अनुसार चलचित्रको छायांकनका लागि ४५ दिनको समय तालिका तय गरिएको छ। रोमान्टिक जनरामा निर्माण भइरहेको चलचित्रले प्रेम र वैवाहिक सम्बन्धसँग जोडिएका विषयवस्तुलाई प्रस्तुत गर्ने जनाइएको छ।

चलचित्रमा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ र आश्मा गिरीलगायत कलाकारको अभिनय रहनेछ।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रकी निर्माता सुप्रिया कटुवाल र कार्यकारी निर्माता साम भुजेल हुन्।

IMG_9123

चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका छन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ। त्यस्तै, संगीतमा अर्जुन पोखरेल, पार्श्व संगीतमा रेभन आरती सिंह, छायांकनमा राजेश श्रेष्ठ, सम्पादनमा मिलन श्रेष्ठ, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान तथा नृत्य निर्देशनमा विक्रम स्वार रहेका छन्।

निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि तय गरिसकेको छ। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रदीप खड्का र सनिशा भट्टराईको जोडीलाई पहिलोपटक मुख्य भूमिकामा प्रस्तुत गर्न लागिएको चलचित्र भएकाले पनि ‘शुभ विवाह’प्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।