baburam 1

भनिन्छ, स्वास्थ्य नै धन हो । धेरै समय अघिदेखि चलेको यो भनाइ केही वर्ष अघिसम्म हरेकले खासै गहिरिएर नसोचे पनि अहिले भने अधिकांशले यसलाई मनन गर्न थालेका छन् । हुन पनि गतवर्षदेखि कोरोना भाइरसका कारणले मात्र आज देश तथा विदेशका लाखौँ मानिसले जति खर्च गरेपनि ज्यान बचाउन सकेका छैनन् । सामान्य रुपमा अश्वस्थ भएर उपचारका लागि उपचारकेन्द्र गइयो भने त्यस रोगको निदानका लागि अनेकथरि जाँच गर्दा लाग्ने शुल्क  र उपचारका क्रममा लाग्ने खर्च सामान्य अडकल गरेको भन्दा कैयौँ गुणा वढी हुन्छ । यसअर्थमा रोग लाग्न दिइएन भने धनको बचाउ हुन्छ भन्ने अर्थमा स्वास्थ्य नै धन भनिएको होला । यति संवेदनशील हाम्रो शरीरप्रति हामी आफै जानेर नजानेर कति सचेत छौँ भन्ने सवाल हरेकले सोच्नु आजको पहिलो आवश्यकता हो । 

स्वास्थ्य उपचारका लागि भनेर विभिन्न पालिका वा सहरमा  अस्पतालहरु खोलिएका छन् । सरकारी तवरले वा गैर सरकारी हिसावले खोलिएका धेरै अस्पतालका अवस्था हेर्दा केही न केही सामग्रीको अभाव, दक्ष जनशक्तिको कमी ,चर्को शुल्कलगायत विभिन्न समस्या देखिएका छन्  ।  इटहरी उपमहानगरपालिकाको इतिहास बोकको अस्पताल इटहरी अस्पतालले के कस्ता र कसरी सेवा सुविधा प्रदान गदै आइरहेको छ ? निजी स्तरमा खोलिएका अस्पतालसँग यसले प्रतिष्पर्धा गर्न सकेको छैन  । नयाँ बन्न लागेको भवनको शिलान्यास भए पनि काम सुरु हुन नसक्दा  यसले सर्वसाधारणमा निराशा ल्याएको छ ।  यस्ता थुप्रै विषयमा धेरैको चासोको छ  त्यसैले यही विषयमा इटहरी अस्पतालका प्रमुख डा. योगेश चेमजोङसँग गरिएको कुराकानी ः 

१) इटहरी अस्पतालले  केके सेवा उपलब्ध गराइरहेको छ ? 

 यस अस्पतालले दिने सेवा भनेको मुलतः इमरजेन्सीमा २४सै घण्टा हो , त्यसैगरी  गर्भवती जाँच सेवा  प्रसुति सेवा ,ओपिडी सेवा, परिवार नियोजन सेवा, एच आई भि एड्स तथा यौन रोगको परीक्षण, ल्याब परीक्षण सेवा, क्षय तथा कुष्टरोग पहिचान परीक्षण तथा उपचार तथा परामर्श सेवा, मलेरिया रोगको परीक्षण तथा उपचार सेवा, इसिजी, एक्सरे सेवा, स्वास्थ्य बीमा सेवा र फिभर क्लीनिक साथै कम्पाउण्ड भित्र टेन्ट राखेर कोभिडका विरामीहरुलाई पनि पहिलो चरणको सेवा प्रदान गराइरहेको छ ।

२) विगतको तुलनामा अहिलेको सेवा कत्तिको सन्तोषजनक देख्नुहुन्छ ?

क्रमशः हामी  सेवा विस्तारमा नै लागिरहेका छौँ । राम्रो सेवा दिएकै कारणले र हामीप्रतिको विश्वासले नै धेरै विरामीहरु आइरहनु भएको छ । समय परिस्थिति र आवश्यकताअनुसार हामीले सेवा र सुविधा विस्तारमा लाग्नु नै पर्छ । यो वर्षभित्र वा आउँदो वर्षभित्रै माइनर र मेजर अपरेसन सुरु गर्दै छौँ भने अहिले हाम्रो अल्ट्रा्साउन्ड सुचारु नै छ ।

२)विमाको कारण थुप्रै विरामी आउनुहुन्छ भन्ने सुनिन्छ , विमाको सुविधा लिन प्रत्येक दिन कति विरामीहरु आउनुहुन्छ ?

भरपर्दो उपचार र  परामर्शका कारणले पनि धेरै विरामीहरु आउनुहुन्छ । सामान्य शुल्क र कतिपय निशुल्क रुपमा पनि उपचार भइरहेको छ । विमाको कारणले मात्रै होइन र कोभिड  अगाडि ३ सय देखि ४ सयजना सम्म आउनुभएको तथ्यांक छ भने हाल १ सयको हाराहारिमा आउने गर्नु भएको छ ।

३) डाक्टरले लेखेका औषधिहरु  विमाको सुविधा लिनेले सवै औषधीहरु अस्पतालले नदिएको भन्ने गुनासो छ नि ?

विमामा जुनजुन औषधीहरु क्याटोगोराइज गरेको छ तिनै तिनै औषधीहरुमात्र पाउने पद्धति छ । डाक्टरले लेखेजति सबै पर्दछन् भन्ने पनि हुन्न विमामा उल्लेख भएकामा नपरेकाले उहाँहरुले नपाउनु भएको हो ।ती औषधीहरु  बाहिरै किन्नुपर्छ । 

४) नयाँ सुविधायुक्त भवन बनाउने भनेर शिलान्यास पनि गरिसेको छ २ वर्ष पुग्नु आँट्यो   तर निर्माणको काम सुरु नै भएको छैन नि ? केले रोकिएको हो ?

तपाइँलाई पनि थाहा होला ,यो विश्वव्यापी रुपमा फैलिएको कोभिडले गर्दा आर्थिक क्षेत्र लगायत हरेक क्षेत्र तहसनहस भैरहेको अवस्थामा हामीले औषधी उपचारमा ध्यान दियौँ । परिस्थिति सहज भएको भए निर्माणको थालनी भएको ४ /५ महिना भैसक्थ्यो ।

५) यो कोभिडको विषम परिस्थितिमा अन्य राष्ट्र्यि महत्व वा गौरवका आयोजना सुचारु भएजसरी नै यसलाई फरक मेकानिजम तयार पारेर निर्माण गर्न सकिन्थ्यो नि फेरि स्वास्थ्यजस्तो महत्वपूणर् क्षेत्र पनि हो ?यसमा तपाइहरु चुक्नु भयो  नि होइन त ?

यसमा  ट्याक्कै चुकेको चाहि म भन्दिनँ । योजनामा छँदै छ ।  यन्त्र उपकरणलगायतका लागि  बजेट छँदै छ कार्यान्वय गर्नमात्र बाकी हो  ।यो विचमा इटहरीमा  सङ्क्रमितहरुको संख्या पनि निकै वढ्यो हामी वढी स्वास्थ्यतिर केन्द्रित भयौँ । अव यसको सुरुवात पालिकासँगको समन्वयमा छिटै अगाडि वढ्छ ।

६) यो अस्पताले धेरैलाई सेवा दिन र मन जित्न के गर्नुपर्छ ?

अस्पताल सञ्चालनका लागि मुलतः   दक्ष जनशक्ति चाहिन्छ । भौतिक पूर्वाधारको विकास, औजार उपकरण यी सबै कुरा पर्याप्त भएको खण्डमा, जस्तोसुकै विरामी आएपनि उपचार गर्न सक्ने क्षमता वा सामथ्र्य हुन्छ । यी आवश्यक सबै वस्तुहरुको चाँजोपाँजो भएमा यहाँका मात्र नभएर अन्य जिल्लाबाट पनि उपचारका लागि आउनेछन् 

७) यसपालिको वजेटमा पनि केही आवश्यक बस्तुका लागि माग गर्नु भएको छ ?

छ । हामीले धेरै गरेका छौँ तर अहिले नै भन्न मिल्दैन पछि थाहा भैहाल्छ ।

 ८) हाल कस्ता कस्ता सेवाहरु कोभिडका कारण स्थगित गरिएका छन् ?

कोभिडका बेलामा इमरजेन्सी डेन्टलबाहेक डेन्टल  सेवा बन्द छ किनकि जुन विरामीलाई प्रत्यक्ष हेर्नु पर्ने हुन्छ र भाइरल ट्रान्समिसन हाइ हुनसक्छ । स्वयम् स्वास्थ्यकर्मीलाई पनि रिक्स हुन्छ ।अन्य सेवाहरु आवश्यकता र औचित्यका आधारमा सुचारु नै छन् । 

वास्तवमा  स्वास्थ्यजस्तो महत्वपूणर्ं विषयमा स्थानीय सरकारले विशेष चासो दिँदै इटहरी अस्पताललाई सुविधासम्पन्न  बनाउनु आजको अति आवश्यकता रहेको देखिन्छ । धेरै विरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको दायित्व पनि हो ।