इटहरी, नेपालमा कोरोना संक्रमणको दर केहि दिन यता घट्दो दरमा वृद्धि भए पनि मृत्यु दर भने उस्तै छ । कोरोनाको दोश्रो भेरियन्टसँग उन्मूक्ति पाउन अक्सिजन अपरिहार्य बनेको छ । तर अहिले यसको हाहाकार मचिएको छ । उद्योगिहरु अक्सिजन सिलन्डर अभाव भयो भन्दै छन् भने अस्पताल तथा आइसोलेसनहरु अक्सिजनका हाहाकार नै मचिएको बताउँछन् । नेपाल सरकारले यहि अभावलाई पूर्ति गर्न अहिले विभिन्न देशसँग हारगुहार गर्दै आवश्यक सामग्री खरिद तथा सहयोग लिइरहेको छ । तर पनि यसले वर्तमानको मागलाई परिपूर्ति गर्न भने सकेको छैन् । अक्सिजन तथा आवश्यक स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर नै उद्योगपती शिव प्रसाद घिमिरे लागिपरेका छन् । विशेषताः छिमेकी देश चिनबाट आफैले त्यस्ता स्वास्थ्य सामग्री आयात तथा विक्रिवितरण गर्दै आएका घिमिरेले देशका विभिन्न ठाउँमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् ।

मंगलबार उनले प्रदेश १ को मोरङ र सुनसरीमा सञ्चालनमा रहेका आइसोलेसनहरुमा स्वास्थ्य सामग्री निशूल्क सहयोग गरेका छन् । एस.जी समुहका सञ्चालक घिमिरेले  मंगलबार मात्रै सुनसरीको इटहरी उपमहानगरपालिका, उद्योग वाणीज्य संघ इटहरी, इनरुवा नगरपालिका, हरिनगरा गाउँपालिका र मोरङको सुन्दरहैँचा नगरपालिकालाई अक्सिजन सिलिन्डरसहित अन्य आवश्यक स्वास्थ्य सामग्री निशुल्क सहयोग गरेका छन् । घिमिरेका अनुसार अक्सिजन व्याग ५० थान, सर्जिकल मास्क ५०० थान, ४० लिटर क्षमताको अक्सिजन सिलिन्डर ८ थान, १० लिटर क्षमताको अक्सिजन सिलिन्डर ३ थान, अक्सिमिटर ४ थान, अक्सिजन मास्क २५ थान र केहि ठाउँमा एल.पि.जी सिलिन्डर पनि वितरण गरिएको छ ।

उनले यहाँ मात्रै नभएर देशका विभिन्न ठाउँमा आफूले आवश्यक स्वास्थ्य सामग्री निशूल्क सहयोग गर्दै आएको जानकारी दिएका छन् । ‘मैले देश भरीका १६÷१७ स्थानमा यसरी नै सहयोग गर्दै आएको छु । पश्चिमको कैलालीदेखि मैले विभिन्न आइसोलेसन तथा कोभिड अस्पतालमा स्वास्थ्य सामग्री यसरी नै सहयोग गर्दै आएको छु’, उनले भने । केहि समय अगाडि उक्त समुहले विभिन्न स्वास्थ्य सामग्री चिन बाट आयात गरेको थियो । जसमध्ये पोर्टेबल अक्सिजन ब्याग नेपालका लागि नयाँ हो । हलुका हुने र विरामीले पनि बोक्न सक्ने हुनले यसलाई उपयोगि मानिएको छ ।