हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिँदैछ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो । पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । 

तर, दुई बर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरूले भने यो औषधि सेवन नगर्न चिकित्सकहरूको सुझाव छ । यस्तै, यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूले आग्रह गरेका छन् । 

हात्तीपाइले रोगबाट बच्न ६ बर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । नेपालका ५३ जिल्ला नियमित औषधि सेवन कार्यक्रममार्फत् हात्तीपाइलेमुक्त भइसकेका छन् । नेपालमा सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।